11/07/2026
सुशासनको खरानी
काठमाडौँको भिडमा,
एउटा सपना जल्दैछ।
मुगुको त्यो तन्नेरी,
सडकमै खरानी बन्दैछ।
महलहरू झकिझकाउ,
सिंहदरबार उज्यालो छ।
तर गरिबको भागमा,
यहाँ सधैँ अँध्यारो छ।
लोकसेवाका पानाहरू,
पल्टाएरै ऊ थाकेको थियो।
राहदानीको लाइनमा,
अन्तिम आश राखेको थियो।
तर राज्यको ढोका,
कहिल्यै उसको लागि खुलेन।
पसिनाको मूल्य यहाँ,
यो सहरले कहिल्यै बुझेन।
निराशाको हुरी चल्यो,
बाटो कतै देखिएन।
जिउँदो लास बनेर,
बाँच्न उसले सकेन।
पेट्रोलको त्यो आगोमा,
बलेको केवल सास थिएन।
सुशासनको यो देशमा,
अब कुनै आश थिएन।
वीर अस्पतालको शय्यामा,
जलेको शरीर छट्पटायो।
यो निदाएको सत्ता सामु,
न्याय माग्दै ऊ हरायो।
लौ बधाई छ सरकार !
तिम्रो सहर सफा भयो।
प्रश्न सोध्ने एउटा युवा,
खरानी भई सधैँलाई गयो।
खरानीको यो देशमा,
अब लासको कर उठाऊ।
गरिब मरेर के भो र ?
समृद्धिको उत्सव मनाऊ !