01/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टीको धर्मदेवी नगर अधिवेशन सम्पन्न
धर्मदेवी, सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धर्मदेवी नगरपालिकाको प्रथम नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीका केन्द्रीय प्रशिक्षक विभाग सदस्य सुजनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको अध्यक्षता नगर संयोजक भरत घिमिरेले गर्नुभएको थियो।
अधिवेशनमा विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले), नेपाली कांग्रेस तथा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई प्रमुख अतिथि श्रेष्ठले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गर्नुभएको थियो।
कार्यक्रममा रास्वपाका जिल्ला सभापति भक्तनारायण श्रेष्ठ, कोशी प्रदेश सदस्य सूर्यबहादुर पौडेल, जिल्ला उपसभापति चेवन अधिकारी (सुवेदी) तथा जिल्ला सचिव गीता कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो। त्यसैगरी वडा सभापतिहरू, पार्टीका विभिन्न तहका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनलाई सम्बोधन गर्दै वक्ताहरूले मुलुकमा सुशासन, पारदर्शिता, जवाफदेहिता र जनमुखी राजनीतिक संस्कृतिको आवश्यकता औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकको अपेक्षाअनुसार वैकल्पिक राजनीतिक शक्ति निर्माणमा भूमिका खेलिरहेको बताएका थिए। उनीहरूले संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा स्थानीय तहसम्म पार्टीको प्रभावकारी उपस्थितिका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ऋषिकेशव चाँपागाईँले शुभकामना मन्तव्य व्यक्त गर्दै लोकतान्त्रिक अभ्यास, राजनीतिक सहकार्य र जनहितका सवालमा सबै राजनीतिक शक्तिहरूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभएको थियो।
धर्मदेवी नगरपालिकामा पहिलोपटक आयोजना गरिएको यस अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी संगठनात्मक योजना, सदस्यता विस्तार अभियान तथा स्थानीय मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।
सहभागीहरूले अधिवेशनले धर्मदेवीमा रास्वपाको संगठनलाई थप सुदृढ र गतिशील बनाउने विश्वास व्यक्त गरेका छन्।
अधिवेशनले आगामी दिनमा नगरका सबै वडामा संगठन विस्तार गर्दै जनताको समस्या र सरोकारलाई प्राथमिकताका साथ उठाउने निर्णय समेत गरेको जनाएको छ।