15/12/2025
सत्यकथा
हिउँ चितुवा र पलडिसीको चेतना
–अर्जुन आचार्य
२०८२ कार्तिक महिनाको चिसो बिहानी, मुस्ताङको हिमाली हावाले हड्डीसम्म चिस्याइरहेको अनुभूति भइरहेको थियो । म निलगिरी हिमालको फेदीमा अवस्थित सुन्दर गाउँ ठिनीतर्फ लागेँ । अकस्मात परेका वर्षाले बाटो हिलाम्य थियो । आकाश धमिलो थियो । बादलले एउटा टुक्राले निलगिरीको हिमशिखरलाई लुकाउन खोजिरहेको थियो ।
ठिनी, मुस्ताङको ऐतिहासिक र सांस्कृतिक गाउँ हो । ठिनीका स्थानीय एवं समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका संयोजक निरज थकाली त्यो बिहान मलाई ठिनीका एकजना स्थानीय गोठाला पलडिसी थकालीको घर देखाउन जाँदै थिए । बिहान आठ बजेतिर हामी झरीमा ओत लाग्दै उनको घरतिर लम्कन थाल्यौं । तर पलडिसी भने घरमा भेटिएन । ‘लौ, अब हिउँ चितुवाको कथा नपाइने भयो’, मनमनै म सोच्न थालें । म ठिनी गाउँबाट हिउँ चितुवाको अनुभव समेटिने एउटा रोमाञ्चक कथा लिने सुरमा थिएँ । र उनी एक अनुभवी बुढा गोठाला थिए ।
केही बेरपछि म दोश्रो पटक पुनः उनलाई भेट्ने आसले उनको घरको कम्पाउण्डभित्र छिरेँ । आँगनमा छिर्नासाथ नाकमा धुवाँको गन्ध ठोस्यो । म सिंढी चढेर माथि पुगें । एकजोडी बुढाबुढी चुलोको छेउमै आगो ताप्दै, चियाको सुर्की लगाउँदै बसिरहेका थिए । चुलोको मन्द उज्यालोमा उनीहरुको अनुहारमा उमेरका रेखाहरू देखिन्थे, आँखामा जोश झल्किन्थ्यो ।
‘हिउँ चितुवाको कुरा सुन्न आउनु भएको?’, पलडिसी थकालीले हाँस्दै भने, ‘ल, यता बस्नुस्’ उनले आपूm नजिक इशारा गरे ।
म मुस्कुराएँ, ‘कसरी थाहा पाउनु भयो बुवा?’
‘बुढीले सुनाएकी’, उनले भने ।
‘चिया खाने बाबु,’, आमाले भनिन्।् ।
म हिचकिचाउँदै भनेँ, ‘दूध चिया त म खान्न आमा ।’
‘लोकल घिउ चिया खानु’ पलडिसीले अनुरोध गरे ।
सुनेरै म उत्साहित भएँ । ‘सिुन्या थिएँ, अहिलेसम्म खाएको थिइँन ।’
‘चाखेर त हेर्नुहोस्’, पलडिसीले आँखाले इसारा गरे ।
मैले हाँस्दै गिलास समाएँ । आमाले गिलासमा घिउ चिया खनाइन् । घिउ चियाको स्वाद बेजोड थियो, मुस्ताङकै चिसो बिहानीसँग मिठो स्वाद मिसिँदै गयो ।
चिया सुर्किँदै गर्दा पलडिसीले कथा सुनाउन थाले — ‘मैले २०२३ सालदेखि २०४२ सम्म खच्चड पालें । त्यसपछि अहिलेसम्म च्यांग्रा पाल्दै आएको छु । अठहत्तर वर्षको भएँ, तर गोठ त अहिले पनि त्यहीँ छ बाबु ।’
मैले पलडिसीको अनुहार एकटकले हेरिरहें र सोधें ‘हिउँ चितुवासँग त धेरैपटक जम्काभेट भयो होला नि बुवा?
उनी मुस्कुराए, आँखामा चमक देखियो । लाग्थ्यो पर्बतको प्रेतसँग उनको धेरैपटक देखादेखी भाथ्यो कि! ,
‘कति कति, तर एउटा चाहिँ बाबुलाई सुनाउँछु ।’
मेरो उत्सुकताको सीमा नाघ्यो । म आफ्नो सेल फोन खोलेर उनको कुरा रेकर्ड गर्न तयार भएँ ।
‘कतिपटक त च्यांग्रा नै हानिदिन्छ, कहिलेकाहीँ त नजिकै आएर मलाई हेरेको पनि छ ।’, उनले कुरा थाले ।
त्यसपछि सुरु भयो—मुस्ताङका लेक, च्यांग्राको गोठाला, र हिउँ चितुवासँगको जम्काभेटको कथा ।
हिउँदमा बेशी झर्ने र बर्षामा लेक लाग्नु पर्ने च्याङ्ग्राहरु २०७८ साल हिउदको कथा उनले सुनाउन थाले । ‘झन्डै छ वर्ष अगाडिको कुरा हो,’ उनले भने, ‘त्यो बिहान म करिब तीन सय च्याङ्ग्राहरु लिएर लुप्रा र ठिनीको सिमानामा रहेको घरमाथिको लेकतिर (कुम्लेको वन) गइरहेको थिएँ’।
उत्रे हावा (हिउँको हावा) चल्न थालेको थियो, आकाश नीलो र डाँडामा घाम भुल्कँदै थियो । उनी च्यांग्राहरूलाई डाँडामा छाडेर, आपूm चारैतिर देखिने ठाउँमा बसेर खाना खान थाले । भातको भाडा खाली गरी झोलामा राख्दै गर्दा आँखा अचानक तलतिर प¥यो—जहाँ च्याङ्ग्राहरू वरिपरि छरिएका थिए । त्यसै बीच, उनको नजर एउटा सेतो कालो धर्का भएको, लामो पुच्छर बोकेको जनावरमा प¥यो । टाढाबाट हेर्दा कुकुरजस्तै देखिने त्यो जनावर च्याङ्ग्राहरु भएतिर सुस्त गतिमा अघि बढ्दै थियो । पलडिसी झसङ्ग भए । ‘हा हा, हो हो’ भनेर हल्ला गर्दै उनले लठ्ठी भुइँमा बजारे । तर त्यो जनावर टसमस भएन, न त डरायो, बरु ठिक उनितिर फर्केर बस्यो—शान्त, स्थिर र एकटकसँग हेर्दै ।
त्यो बेला मात्र उनले बुझे—त्यो साधारण जनावर होइन, हिउँ चितुवा रहेछ ।
हिमालको रानी अनि पर्वतको रहस्यमयी बासिन्दा, मान्छे नजिकै आइपुगेको देख्दा पलडिसी अचम्मित थिए । गोठालाहरुले गाउँनजिकबाट हीउ चितुवाले बाख्रा खायो भन्थे तर उनि पत्याउदैनथे तर उक्त घटनाले उनलाई गोठालाका कुराहरु सत्य लाग्न थाल्यो । केहि बर्ष अगाडि उनले चौरी पालेका थिए । झन्डै २३ वटा चौरी उनले हिउँ चितुवाबाटै १ बर्षमा नै गुमाए । त्यसपछि बाकी चौरी बेचेर उनले च्याङ्ग्रा पाल्न थालेका हुन् ।
पलडिसीले एउटा अनौठो कुरा सुनाए —‘हिउँ चितुवाले जब आक्रमण गर्न चाहन्छ, ऊ पहिले माथि हेचुंङ (पहाडको चोटी) मा भएको घाँसको ठूल्ठूला जराहरुलाई उखेलेर त्यहाँबाट तलतिर गुल्ट्याउँछ । त्यो जराले तलतिर खस्दा आवाज आउँछ । जन्तु डराएर भाग्यो भने हिउँ चितुवा निहुरिन्छ । तर नडराई उभिरह्यो भने, चितुवाले तुरुन्त उसलाई आक्रमण गर्छ ।’
अहिले पलडिसी थकाली ७८ वर्षका भइसके । बाल्यकालदेखि अहिलेसम्म उनले गाउँ छोडेनन् । परम्परागत गोठाला पेशा छाडेनन्, गाउँकै रहनसहन र वातावरणमा जीवन समर्पण गरे ।
मैले जाँदाजाँदै उनलाई सोधेँ—‘बुवा, हिउँ चितुवालाई त बचाउनुपर्छ कि पर्दैन?’
उनी हल्का मुस्कुराए र भने, ‘उसले च्याङ्ग्रा खायो भन्दैमा हामी उसलाई खान त सक्दैनौँ क्यारे । आफ्ना बस्तु राम्ररी हेर्नुपर्छ, त्यसको दोष जनावरलाई किन दिने?’
उनको त्यो उत्तर सुन्दा मेरो मन हर्षले भरियो।
त्यो सरल वाक्यमा थियो — प्रकृतिप्रति माया, सह–अस्तित्वको दर्शन, र अनुभवी हिमाली बासिन्दाको गहिरो बुद्धिको प्रतिबिम्ब ।
त्यो क्षणपछि मैले महसुस गरेँ — ठिनी लगायतका हिमाली बस्तिहरूमा यस्ता अनुभवहरूको अनुसन्धान र दस्तावेजीकरण गर्नु अत्यन्त जरुरी छ । जब समुदायमा हिउँ चितुवाको महत्वबारे चेतना फैलिन्छ, त्यो दिन—समुदाय स्वयं हिउँ चितुवाको संरक्षक बन्नेछ ।
सम्पादनः अनिल अधिकारी