09/05/2023
अन्तर्राष्ट्रिय मजदूर आन्दोलको इतिहास :
मई दिवसको जन्म कामको घण्टा कम गर्ने आन्दोलनसँग अटुट रूपले जोडिएको छ।कामको घण्टा कम गर्ने यो आन्दोलनको मजदूरहरूको लागि अत्यन्तै धेरै महत्त्व रहेको छ।जब अमेरिकामा फ्याक्ट्री-व्यवस्था शुरु भयो, लगभग त्यही बेलादेखि यो संघर्षको उदय भयो।
यद्यपि अमेरिकामा बढी वेतनको माग शुरुवाती हड्तालहरूमा सबभन्दा प्रचलित माग थियो तर मजदूरहरूले आफ्ना मागहरूलाई सूत्रबद्ध गरेपछि कामको घण्टा कम गर्ने प्रश्न र संगठित हुने अधिकारको प्रश्न केन्द्रमा रह्यो।शोषण बढ्दै गएपछि मजदूरहरूलाई अमानवीय रूपले लामो कामको दिन अझ बोझपूर्ण महसुस हुनलाग्यो।यसको साथै मजदूरहरूका कामका घण्टामा आवश्यक कमीको माग पनि प्रबल हुँदै गयो।
उन्नाइशौं शताब्दीको शुरूवातमा नै अमेरिकामा मजदूरहरूले “सूर्योदयबाट सूर्यास्त” सम्मको कामको समयको विरोधमा आफ्ना गुनासाहरू प्रकट गरेका थिए। “सूर्योदयदेखि सूर्यास्त” सम्म – यही नै त्यो बेलाको कामका घण्टा थिए।चौध, सोह्र र यहाँसम्म कि अठार घण्टाको कार्यकाल पनि त्यहाँ सामान्य कुरा थियो।सन् १८०६ मा अमेरिकाको सरकारले फिलाडेल्फियाका हड्ताल गर्ने चर्मकारहरूका नेतामाथि षड्यन्त्रको मुद्दा चलायो।यी मुद्दामा मजदूरहरूलाई उन्नाइस वा बीस घण्टासम्म काम गराइरहिएको थियो भन्ने कुरा सामुन्ने आयो।
उन्नाइशौं शताब्दीको दोस्रो र तेस्रो दशक कामका घण्टा कम गर्नको लागि हड्तालहरूले भरिएका थिए।कैयौं औद्योगिक केन्द्रहरूमा त एक दिनमा कामका घण्टा दस बनाउने निश्चित मागहरू पनि राखियो।संसारको पहिलो ट्रेड-यूनियन मानिने ‘मेकानिक्स यूनियन अफ फिलाडेल्फिया’ लाई सन् १८२७ मा फिलाडेल्फियाको कामको घण्टा दस बनाउनको लागि निर्माण-उद्योगका मजदूरहरूको एक हड्ताल गर्ने श्रेय जान्छ।सन् १८३४ मा न्यूयोर्कमा बेकरीवालाहरूको हड्तालको क्रममा ‘वर्किंगमेन्सएडभोकेट’ नामक अखबारले छापेको थियो – “पाउरोटी उद्योगमा लागेका कामदारहरूले वर्षौंदेखि मिश्रका दासहरूले भन्दा पनि धेरै यातनाहरू झेलिरहेका छन्।उनीहरूले हरेक चौबीस घण्टामा औसत अठारदेखि बीस घण्टासम्म काम गर्नुपर्दछ।”
ती इलाकाहरूमा दस घण्टाको कार्यदिवसको मागले तुरुन्तै एक आन्दोलनको रूप लियो।यो आन्दोलनमा सन् १८३७ को संकटबाट बाधा भए पनि दिनप्रतिदिन विकसित हुँदै गयो र यसैकारण भोन ब्यूरेनको संघीय सरकारले सबै सरकारी कर्मचारीहरूको लागि कामको घण्टा दस बनाउने घोषणा गर्नुपर्यो।सम्पूर्ण विश्वभरी कामको घण्टा दस बनाउने संघर्ष आउँदा केही दशकहरूमा शुरु भयो।यो माग कैयौं उद्योगहरूमा मानिएपछि नै मजदूरहरूले कामको घण्टा आठ बनाउने माग उठाउन शुरु गरे।पचासको दशकको क्रममा लेबर यूनियनहरूलाई संगठित गर्ने गतिविधिहरूले यो मागलाई धेरै बल दियो तर सन् १८५७ को संकटले यसमा पनि अवरोध सृजना गर्यो।यो माग केही सुसंगठित उद्योगहरूमा यो संकट आउनुभन्दा पहिले नै मानिएको थियो।यो आन्दोलन अमेरिकामा मात्र सीमित थिएन।यो आन्दोलन त्यो हरेक ठाउँमा प्रचलित थियो, जहाँ उदाइरहेको पूँजीवादी व्यवस्थाको माध्यमबाट मजदूरहरूको शोषण भइरहेको थियो।यो कुरा के तथ्यबाट सामुन्ने आउँदछ भने अमेरिकाबाट अर्को किनारामा रहेको अस्ट्रेलियामा निर्माण उद्योगका मजदूरहरूले “आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरंजन” भन्ने नारा दिए र उनीहरूको यो माग सन् १८५६ मा मानियो।
अमेरिकामा ‘ कामको आठ घण्टा बनाउने‘ आन्दोलनको शुरुवात
अमेरिकामा सन् १८८४ मा ‘कामको आठ घण्टा बनाउने’ आन्दोलनबाट शुरु भएको संघर्षको कारण ‘मई दिवस’ को जन्म भयो। यद्यपि यसभन्दा एक पुस्ता पहिले पनि एक राष्ट्रिय श्रम संगठन ‘नेशनल लेबर यूनियन’ ले कम कार्यदिवसको प्रश्न उठाइ यसमा आन्दोलन खडा गर्ने प्रस्ताव राखेर एक जुझारू सांगठनिक केन्द्रको रूपमा विकसित हुने आशा जगाएको थियो।गृहयुद्धको पहिलो वर्ष (सन् १८६१-६२) मा केही राष्ट्रिय ट्रेड-यूनियनहरूको लोप हुँदैगएको देखियो। यो युद्ध शुरु हुनुभन्दा ठीक पहिले भएको थियो। यसमा ‘मोल्डर्स यूनियन’, ‘मेकिनिस्ट्स र ब्लेकस्मिथ्स यूनियन’ प्रमुख थिए।तर आउने केही वर्षहरूमा कैयौं स्थानीय श्रमिक संगठनहरूको राष्ट्रिय स्तरमा एकीकरण पनि भयो।यी यूनियनहरूलाई एक राष्ट्रिय संघको आवश्यकता स्पष्ट रूमपा देखिन लाग्यो। २० अगस्ट १८६६ मा ‘नेशनल लेबर यूनियन’ बनाउने तीन ट्रेड-यूनियनहका प्रतिनिधिहरू बाल्टीमोरमा भेट भए।राष्ट्रिय संगठनको निर्माणको लागि चलेको आन्दोलनको नेतृत्व विलियम एच. सिल्भिसले गरेका थिए।उनी पुनर्गठित ‘मोल्डर्स यूनियन’ का नेता थिए।सिल्भिस एक युवा भए पनि त्यस बेलाको श्रमिक आन्दोलनमा उनको एक महत्त्वपूर्ण भूमिका रहेको थियो।सिल्भिसको लण्डनमा भएका प्रथम कम्युनिष्ट इन्टरनेशनलका नेताहरूसँग पनि सम्पर्क थियो।उनले ‘नेशनल लेबर यूनियन’ लाई इन्टरनेशनलको जनरल काउन्सिलसँग सम्बन्ध स्थापित गर्नको लागि प्रेरित गरे र त्यसमा मद्दत पनि गरे।
सन् १८६६ मा ‘नेशनल लेबर यूनियन’ को स्थापना समारोहमा निम्न प्रतिज्ञा गरियो – “यो देशका श्रमिकहरूलाई पूँजीवादी दासता र एकाधिकारबाट मुक्त गराउनको लागि वर्तमान समयको पहिलो र सबभन्दा धेरै आवश्यकता के हो भने अमेरिकाकाका सबै राज्यहरूमा आठ घण्टाको कार्यदिवसलाई सामान्य कार्यदिवस बनाउने कानून पास गराउनुपर्दछ।यो लक्ष्य पूरा नभएसम्म हामी आफ्नो सम्पूर्ण शक्तिले संघर्ष गर्नको लागि प्रतिज्ञाबद्ध छौं।”
यही समारोहमा कार्यदिवसलाई आठ घण्टा बनाउने कानूनको मागसँगै स्वतन्त्र राजनीतिक गतिविधिहरूको मागलाई उठाउने कुरा पनि बहुमतले पारित भयो।साथै यो लक्ष्य पूर्तिको लागि “औद्योगिक वर्गहरूका हितलाई प्रोत्साहित गर्न र प्रस्तुत गर्नको लागि प्रतिज्ञाबद्ध व्यक्तिहरूको छनौट गर्ने” कुरा तय भयो।
आठ घण्टाको कार्यदिवसको मागको लागि बनेको मजदूर संगठनको निर्माण ‘नेशनल लेबर यूनियन’ द्वारा गरिएको आन्दोलनकै परिणाम थियो। र, नेशनल लेबर यूनियनका यी गतिविधिहरूकै परिणामस्वरूप कैयौं राज्य सरकारहरूले आठ घण्टाको कार्यदिवसको कानून पास गर्न स्वीकार गरेका थिए।अमेरिकी कांग्रेसले ठीक त्यस्तै कानून सन् १८६८ मा पारित गरेको थियो।यो ‘कामको घण्टा आठ बनाउने’ आन्दोलनको उत्प्रेरक नेता बोस्टनका मेकानिस्ट इरा स्टीवर्ड थिए।
शुरुवाती क्रमको श्रमिक आन्दोलनको कार्यक्रम र नीति प्राथमिक स्तरको थियो र हमेशा तिनीहरूको प्रभाव देखिंनैथ्यो तर पनि त्यो स्वस्थ सर्वहारा नैसर्गिकतामा आधारित थियो।त्यो एक जुझारू मजदूर आन्दोलनको जग बन्न सक्दथ्यो। तर पछि सुधारवादी नेता र पूँजीवादी राजनीतिज्ञहरू यो संगठनमा घुसे र त्यसलाई गलत मार्गमा अग्रसर गरे।जे भए पनि चार पुस्ता पहिले अमेरिकी श्रमिकहरूको संगठन नेशनल लेबर यूनियनले स्वयंलाई पूँजीवादी दासत्वको विरुद्ध घोषित गरे र स्वतन्त्र राजनीतिक गतिविधिहरूको माग गरे।
सिल्भिसको लण्डनमा इन्टरनेशनलसँग सम्पर्क जारी थियो।सिल्भिस नेशनल लेबर यूनियनका अध्यक्ष थिए।यसको १८६७ को सम्मेलनमा अन्तर्राष्ट्रिय मजदूर वर्ग आन्दोलनलाई सहयोग गर्ने प्रस्ताव स्वीकार गरियो र सन् १८६९ मा इन्टरनेशनलको जनरल काउन्सिलको आमन्त्रणलाई स्वीकार गरी यसको बेसिल कांग्रेसमा आफ्नो एक प्रतिनिधि पनि पठाइयो।दुर्भाग्यले सिल्भिसको नेशनल लेबर यूनियनको सम्मेलनभन्दा पहिले नै मृत्यु भयो र शिकागोमा छापिने पत्रिका वर्किंगमेन्सएडभोकेटका सम्पादक ए.सी. केमरोन सिल्भिसको स्थानमा प्रतिनिधिको रूपमा सम्मेलनमा गए।जनरल काउन्सिलले एक विशेष प्रस्तावको माध्यमबाट आफ्ना यी आशावादी युवा अमेरिकी श्रमिक नेताको मृत्युमा शोक जतायो।
“सबैका आँखा सिल्भिसमाथि रोकिएका थिए।सिल्भिससँग आफ्ना महान क्षमताहरूको अतिरिक्त आफ्नो सर्वहारा सेनाको जनरलको रूपमा दस वर्षको अनुभव थियो – र सिल्विस अब रहेनन्।” सिल्भिसको मृत्यु नेशनल लेबर यूनियनको ह्रासको एक धेरै ठूलो कारण बन्यो।र, ह्रास शीघ्र नेशनल लेबर यूनियनको अन्त्यको रूपमा सामुन्ने आयो।
‘कामको घण्टा आठ बनाउने‘ आन्दोलनमा मार्क्सको विचार
आठ घण्टाको कार्यदिवसको माग गर्ने निर्णय नेशनल लेबर यूनियनले अगस्ट १८६६ मा लियो। त्यही वर्ष सेप्टेम्बर मा पहिलो इन्टरनेशनलको जेनेभा कांग्रेसमा यो आठ घण्टाको कार्यदिवसको माग निम्न रूपले दर्ज भयो –
“कामको दिनको वैध सीमा तय गर्नु एक प्राथमिक शर्त हो, जसबिना मजदूर वर्गको स्थितिमा सुधार वा उसको मुक्तिको कुनै पनि प्रयास सफल हुन सक्तैन……….यो कांग्रेस आठ घण्टाको कार्यदिवसको प्रस्ताव राख्दछ।”
सन् १८६७ मा प्रकाशित ‘पूँजी’ को पहिलो खण्डको “कार्यदिवस” मा आधारित अध्यायमा मार्क्सले नेशनल लेबर यूनियनद्वारा शुरु गरेका कामको घण्टा आठ बनाउने आन्दोलनतिर ध्यान दिलाएका छन्।पूँजीको यो हिस्सा धेरै प्रसिद्ध छ किनभने यसमा मार्क्सले काला जातिका मजदूरहरू र सेता जातिका मजदूरहरूको वर्ग हितहरूको एकताको बारेमा लेखेका छन्। उनले लेखेका छन् –
“जबसम्म दास प्रथा गणराज्यको एक हिस्सामा कलंक जस्तै टाँसिरहन्छ, तबसम्म अमेरिकामा कुनै पनि स्वतन्त्र मजदूर आन्दोलन पंगु बनिरहन्छ।सेतो छाला भएका मजदूरले आफूलाई कहिल्यै पनि मुक्त गर्न सक्तैनन्, जबसम्म कालो छाला भएका मजदूरहरूलाई अलग गरेर हेर्नेछन्। तर दास प्रथाको समाप्तिसँगै एक नयाँ ओजस्वी जीवनको अंकुर फुटेको छ।कामलाई आठ घण्टा बनाउने आन्दोलनसँगै त्यहाँ गृहयुद्धको शुरुवात भयो।कामको आठ घण्टा बनाउने आन्दोलन यस्तो आन्दोलन थियो, जुन तीव्र रूपमा एटलान्टिकबाट हिन्दसम्म र न्यू इंग्ल्याण्डबाट क्यालिफोर्नियासम्म फैलियो।”
मार्क्सले कसरी लगभग सँगसँगै वास्तवमा दुई हप्ताभित्र बाल्टीमोमा मजदूर सम्मेलनले आठ घण्टाको कार्यदिवसलाई बहुमतले पारित गर्र्यो र इन्टरनेशनलको जेनेभा कांग्रेसले ठीक त्यस्तै निर्णय लियो भन्ने कुरातिर ध्यानाकर्षित गरे।”यसरी एटलान्टिकका दुवैतिर मजदूर आन्दोलनले ‘उत्पादनका परिस्थितिहरू’ मा गुणात्मक विकास गर्र्यो।” यो कथनले कसरी कार्यदिवसका सीमाहरूलाई तय गर्ने आन्दोलन चल्यो र कामको घण्टालाई आठ बनाउने आन्दोलनको रूपमा साकार भयो भन्ने कुरालाई बताउँदछ।
जेनेभा कांग्रेसको निर्णय अमेरिकी नेशनल लेबर यूनियनको निर्णयसँग कसरी मेल खान्छ भन्ने कुरालाई यो कथनबाट हेर्न सकिन्छ – “कार्यदिवसका सीमाहरू तय गर्ने मागहरूले सम्पूर्ण अमेरिकाका मजदूरहरूका मागहरूलाई प्रस्तुत गर्दछ, त्यसकारण यो कांग्रेस यस मागलाई सम्पूर्ण दुनियाँका मजदूरहरूको एक आम मोर्चाको रूप दिन्छ।”
इन्टरनेशनलको कांग्रेसमाथि यही मुद्दामा अमेरिकी मजदूर आन्दोलनको अझ जबर्जस्त प्रभाव पर्र्यो तर २३ वर्षपछि।
अमेरिकामा मई दिवसको जन्म
सन् १८७२ मा पहिलो इन्टरनेशनलको हेडक्वार्टर लण्डनबाट न्यूयोर्क आएपछि पहिलो इन्टरनेशनल एक अन्तर्राष्ट्रिय संस्थाको रूपमा समाप्त भयो तर औपचारिक रूपले यसकव अस्तित्व सन् १८७६ सम्म रहिरह्यो।इन्टरनेशनल पुनः गठित भयोर दोस्रो इन्टरनेशनलको कामले प्रसिद्ध भयो।दोस्रो इन्टरनेशनलको पेरिश कांग्रेस (सन् १८८९) मा पहिलो मईको त्यो दिनको रूप दिइयो, जुन दिन संसारका मजदूरहरू आ-आफ्ना राजनीतिक पार्टीहरू र ट्रेड-यूनियनहरूको रूपमा संगठित भए र आफ्ना सबभन्दा महत्त्वपूर्ण राजनीति माग – आठ घण्टाको कार्यदिवसको मागको लागि संघर्ष गरे।पेरिस कांग्रेसको यो महत्त्वपूर्ण निर्णय शिकागोमा पाँच वर्ष पहिले लिइएको एउटा निर्णयबाट प्रभावित थियो।यो निर्णय पाँच वर्ष पहिले शिकागोमा एक नवनिर्मित अमेरिकी मजदूर संगठन ‘द फेडेरेशन अफ अर्गनाइज्ड ट्रेड एण्ड लेबर यूनियन्स अप द यूनाइटेड स्टेट्स एण्ड क्यानडा’, जुन पछि आफ्नो संक्षीप्त नाम ‘द अमेरिकन फेडेरेसन अफ लेबर’ को नामले प्रसिद्ध भयो, का प्रतिनिधिहरूले लिएका थिए।७ अक्टुवर १८८४ मा यो संगठनको चौथो सम्मेलनमा निम्न प्रस्ताव पारित भयो :
“फेडेरेशन अफ अर्गनाइज्ड ट्रेड एण्ड लेबर यूनियन्स अफ द यूनाइटेड स्टेट्स एण्ड क्यानडा के कुरा तय गर्दछ भने पहिलो मई १८८६ देखि आठ घण्टाको कार्य दिवस वैध कार्यदिवस हुनेछ र हामी मजदूर संगठनहरूसँग उनीहरूले आफ्नो अधिकार क्षेत्र अनुसार आफ्ना नियमहरूलाई निर्धारित गरून् र तिनीहरू यो प्रस्ताव अनुकूल होस् भन्ने आग्रह गर्दछौं।”
तर यो प्रस्तावमा कसरी यो संगठन पहिलो मईलाई आठ घण्टा दिवसको रूपमा प्रचलित गर्नेछ भन्ने कुरा कतै पनि बताइएको थिएन।यो कुरा स्वयं के कुराको साक्षी हो भने जुन संगठन ५०००० भन्दा बढी सदस्यहरूको पनि होइन, त्यसमा काम गर्ने फ्याक्ट्री, मिल र खानीहरूमा संघर्षबिना र कामलाई आठ घण्टा बनाउने आन्दोलन बिना मजदूरहरूलाई अझ बढी आबादीमा प्रसारित गरी “आठ घण्टाको कार्यदिवस वैध कार्य दिवस हुनेछ।” भन्ने कुरा कसरी घोषित गर्न सक्दथ्यो।यो प्रस्तावको के कथन छ भने फेडेरेशनसँग जोडिएका सबै यूनियनहरूले “आफ्ना नियमहरूलाई यो प्रस्तावको अनुकूल हुनेगरी निर्धारित गरून्”, यो के कुरासँग सम्बन्धित छ भने ती यूनियनहरूले आफ्ना सदस्यहरूलाई वशेष हड्ताल-सहायता दिनेछन्, जुन मई १८८६ देखि हड्तालमा गइरहेका छन्।हुनसक्दछ उनीहरू यति धेरै समयसम्म हड्तालमा रहून्, जसको कारण उनीहरूलाई यूनियनहरूको सहायताको आश्यकता पर्दछ।यद्यपि हड्तालको सयमा मजदूरसँग जीविका चलाउने कुनै साधन हुँदैनथ्यो, त्यसकारण यूनियनहरू उनीहरूलाई हड्तालको समयमा विशेष सहायता दिन्थे।यो हड्ताल राष्ट्रिय स्तरमा थियो, त्यसकारण यी सबै यूनियनहरूले आफ्नो नियमानुसार आफ्ना सदस्यहरूबाट हड्तालको लागि स्वीकृति प्राप्त गर्नुपर्दथ्यो, खासगरी यी हड्तालहरूमा उनीहरूका फण्डहरूको खर्च सामेल भएको कारणले पनि।यो कुरा अवश्य स्मरण हुनुपर्दछ कि यो फेडेरेशन अर्थात् आजको अमेरिकन फेडेरेसन अफ लेवर स्वेच्छिक र संघीय आधारमा बनेको थियो र राष्ट्रिय सम्मेलनको निर्णय केवल फेडेरेसनसँग जोडिएका यूनियनहरूमा लागू थिए, त्यो पनि यूनियनहरूले ती निर्णयहरूको समर्थन गरेको बेलामा।
मई दिवसका तयारीहरू
सन् १८७७ मा जबर्जस्त हड्तालहरू भए। यी हड्तालहरूको दमनको लागि ठूला पूँजीवादी कर्पोरेसनहरू र सरकारले सैनिक दस्ताहरू पठाए, जसको रेलवे र स्टील कारखानाहरूका दसौं हजार मजदूरहरूले बहादूरीपूर्वक प्रतिरोध गरे। यी संघर्षहरूको सम्पूर्ण मजदूर आन्दोलनमा गहिरो प्रभाव पर्र्यो।यो अमेरिकामा पहिलो यस्तो जनउभार थियो, जुन राष्ट्रिय परिणामा भएको थियो र अमेरिकी मजदूर वर्गद्वारा संचालित थियो। यी संघर्षहरूमा यी मजदूर राज्य र पूँजपतिहरूको संयुक्त शक्तिसँग हारे पनि यो क्रमपछि अमेरिकी मजदूर समाज आफ्नो वर्ग स्थितिको धेरै गहिरो बोध, एक जुझारूपन र धेरै उच्च हौसलासँगै विकसित भयो।यो एक प्रकारले पेन्सिलभेनियाका ती कोइला मालिकहरूलाई एक उत्तर थियो, जसले एन्थ्रासाइट क्षेत्रका खानीकर्मीहरूको संगठनलाई तोड्ने कोशिसमा दस हजार जुझारू खानीकर्मीहरूलाई फाँसी दिइएको थियो।
यद्यपि १८८०-९० को दशक अमेरिकी उद्योग र घरेलु बजारको विकास दृष्टिले सर्वाधिक सक्रिय दशक थियो तर सन् १८८४-८५ को वर्षमा मन्दीको एक प्रहार आयो।वास्तवमा यो सन् १८७३ को संकटपछि आवर्ती चक्रीय क्रममा आएको मन्दीकै क्रम थियो।यो क्रममा विद्यमान वेरोजगारी र जनताद्वारा झेलिएका कठिनाइहरूले छोटो कार्यदिवसको आन्दोलनलाई एक नयाँ गति दियो।
शीघ्र बनेको मजदूरको त्यो संगठन अमेरिकन फेडेरेशन अफ लेबरले त्यस बेला के संभावना देख्यो भने आठ घण्टाको कार्यदिवसको नारालाई एक यस्तो नाराको रूपमा प्रयोग गर्न सकिन्छ, जसले ती फेडेरेसनमा र नाइट्स अफ लेवरमा पनि नभएका सम्पूर्ण मजदूरहरूलाई एक झण्डामुनि ल्याउन सकिन्छ।नाइट्स अफ लेबर मजदूरको एक धेरै पुरानो संगठन थियो, जुन लगातार बढिरहेको थियो।फेडेरेसनले सबै मजदूर संगठनहरूसँग मिलेर मात्र आठ घण्टाको कार्यदिवसको आन्दोलनलाई सफल बनाउन सकिन्छ भन्ने कुरा बुझिसकेको थियो।यही बुझेर नै अमेरिकन फेडेरेसन अफ लेबरले नाइट्स अफ लेबरसँग यो आन्दोलनमा सहयोगको अपील गर्र्यो।
फेडेरेसनको सन् १८५५ को सम्मेलनमा आउने सालको पहिलो मईमा हड्तालमा जाने संकल्प दोहोर्र्याइयो।कैयौं राष्ट्रिय यूनियनहरूले, खासगरी कार्पेन्टरका र सिगार बनाउने यूनियनहरूले त हड्तालका तयारीहरूको कदम पनि उठाए। पहिलो मईको हड्तालको लागि भइरहेका आन्दोलनहरूले तुरून्तै असर देखाउन शुरु गरिदियो।हड्ताल गर्ने यूनियनका सदस्यहरूको संख्यामा लगातार बढोत्तरी हुनलाग्यो।नाइट्स अफ लेबर संगठनले आफ्नो विकासमा कैयौं छलांग लगायो। परिणामस्वरूप सन् १८८६ मा मजदूरहरूको यो जुझारू संगठन शीर्ष स्थानमा थियो। के कुरा बुझियो भने त्यस बेला फेडेरेसन भन्दा धेरै प्रसिद्ध र जुझारू मानिने नाइट्स अफ लेबरले आफ्ना सदस्यहरूको संख्या दुई लाखबाट बढाएर सात लाख बनाएको थियो।फेडेरेशन यो आन्दोलनको शुरुवात गर्ने संगठन थियो र यसले हड्तालको तारिख निश्चित गरेको थियो।उसका सदस्यहरूको संख्यामा पनि वृद्धि भयो र मजदूरहरूको विशाल आबादीमा त्यसको सम्मान पनि धेरै वृद्धि भयो।
हड्लतालको मिति नजिकिंदै गर्दा नाइट्स अफ लेबरको नेतृत्व विशेषगरी टेरेंस पाउडरलीको नेतृत्वले आन्दोलनलाई नोक्सान पुर्र्याइरहेको छ र यति मात्र होइन उसले आफूसँग जोडिएको यूनियनलाई हड्तालमा भाग नलिने सल्लाह पनि दिइरहेको छ भन्ने कुरा सामुन्ने आइरहेको थियो।फेडेरेसन अहिले पनि लगातार मजदूरहरूको बीचमा लोकप्रिय हुँदै गइरहेको थियो। दुवै संगठनका जुझारू मजदूर सदस्यहरूका पंक्तिहरू लगातार उत्साहपूर्वक हड्तालको तयारीहरू गरिरहेका थिए।कैयौं शहरहरूमा कामलाई आठ घण्टा बनाउने दस्ता र यसैगरी अन्य संगठन देखा परे। यिनीहरू आएपछि सम्पूर्ण आन्दोलनमा मजदूरहरूको बीचमा जुझारूपनको भावनामा जबर्जस्त बढोत्तरी भयो।यो लहरबाट असंगठित मजदूरहरू पनि अछूतो रहेछनन्।उनीहरू पनि बढाईचढाई रूपमा आन्दोलनमा भाग लिन लागे।अमेरिकी मजदूर वर्गको लागि एक नयाँ विहान आइरहेको थियो।
मजदूरहरूको स्वभावलाई बुझ्ने सबभन्दा सही मार्ग उनीहरूको संघर्षको गम्भीरता र विस्तारको बारेमा अध्ययन गरी त्यसलाई बुझ्नु नै हुन्छ।एक समयमा मजदूरहरूको लडाकु स्वभावलाई त्यस बेला भएका हड्तालहरूको संख्याबाट बुझ्न सकिन्छ। अघिल्लो सालमा भएका हड्तालहरूको संख्याको विरुद्धमा सन् १८८५ देखि सन् १८८६ को क्रममा भएका हड्तालहरूको संख्याले त्यो बेलामा मजदूरहरूको त्यो जबर्जस्त लडाकुपनलाई दर्शाउँदछ, जुन समय आन्दोलनलाई अगाडि बढाइरहेका थिए।मजदूरहरूले पहिलो मई १८८६ को महान हड्तालको तयारी त गरिरहेका थिए तर सन् १८८५ मा नै हड्तालहरूको संख्यामा जबरजस्त बढोत्तरी भएको थियो। सन् १८८१ देखि १८८४ को क्रममा हड्ताल र तालाबन्दीको औसत मात्र प्रतिवर्ष ५०० थियो र त्यसमा भाग लिने मजदूर औसत प्रतिवर्ष १५०००० थिए।सन् १८८५ मा हड्ताल र तालाबन्दीको संख्या ७०० सम्म पुग्यो र भाग लिने मजदूरहरूको संख्या बढेर २५०००० सम्म भयो। सन् १८८६ मा त हड्तालहरूको संख्या १८८५ को तुलनामा दुईगुना भएर १५७२ पुग्यो र त्यही अनुपातमा हड्ताल र तालाबन्दीहरूमा भाग लिने मजदूरहरूको संख्या पनि बढेर ६००००० भयो। यी हड्तालहरूको व्यापकताको अनुमान के कुराबाट लाउन सकिन्छ भने यी हड्तालहरूबाट प्रभावित प्रतिष्ठानहरूको संख्या २४६७ थियो र आउँदो साल नै यसको संख्या बढेर ११५६२ सम्म पुगेको थियो।नाइट्स अफ लेबरको नेतृत्वको खुला गद्दारीको बाबजुद के अनुमान लगाइयो भने लगभव ५ लाख मजदूर कामको घण्टा आठ बनाउने आन्दोलनमा प्रत्यक्ष रूपले भाग लिइरहेका थिए।
हड्तालको केन्द्र शिकागो थियो।त्यहाँ हड्ताल सबैभन्दा व्यापक थियो तर पहिलो मईको लागि कैयौं अरु शहर यो आन्दोलनमा जोडिएका थिए।न्यूयोर्क, बाल्टीमोर, वाशिंटन, मिलवोकी, सिनसिनाटी, सेंटलुई, पिटर्सवर्ग, डेट्रोइट समेत अनेकौं शहरहरूमा शानदार हड्तालहरू भए।यो आन्दोलनको सबभन्दा महत्त्वपूर्ण कुरा के थियो भने यसले अकुशल र असंगठित मजदूरहरूलाई पनि हड्तालमा आकर्षित गरेको थियो। त्यस क्रममा ती अनुदानी हड्तालहरू धेरै प्रचलित थिए।सम्पूर्ण देशमा एक विद्रोही फैलिसकेको थियो।बुर्जुवा इतिहासकार सामाजिक युद्ध र पूँजीसँग घृणाको कुरा गरिरहेका थिए, जुन त्यस बेला सुस्पष्ट भएर सामुन्ने आएको थियो। साथै उनीहरू मजदूरहरूका ती पंक्तिका कुरा गरिरहेका थिए, जो त्यस बेला आन्दोलनको रथलाई अगाडि बढाइरहेका थिए। के भन्न सकिन्छ भने पहिलो मईको हड्ताललाई आधा सफलना मिल्यो र जहाँ उनीहरूले आठ घण्टा कार्यदिवसको माग मनाउन सकेका थिएनन्, त्यहाँ पनि उनीहरू कामको घण्टामा पर्याप्त कमी गराउन सफल भए।
शिकागोको हड्ताल र हे मार्केटको घटना
पहिलो मईको शिकागोको हड्तालको रूप सबभन्दा आक्रामक थियो। शिकागो त्यो बेला जुझारू वामपन्थी आन्दोलनको केन्द्र थियो।यद्यपि त्यो आन्दोलन मजदूरहरूका समस्याहरूमा पर्याप्त रूपले स्पष्ट राजनीतिक दृष्टि राख्दैनथ्यो, तर पनि त्यो एक लडाकू र जुझारू आन्दोलन थियो।त्यसले मजदूरहरूको आन्दोलनमा जुझारू भावना बढाउनको लागि आव्हान गर्नलाई हमेशा तयार रहन्थ्यो ताकि मजदूरहरूको जीवनको स्थितिलाई र काम गर्ने स्थितिमा सुधार ल्याउन सकियोस्।
शिकागोको हड्तालमा कैयौं जुझारू मजदूर दलहरूले भाग लिए त्यसकारण शिकागोमा हड्ताल सबभन्दा ठूलो पैमानामा भयो भन्ने मानियो।एक आठ घण्टा एशोसिएसन धेरै पहिले नै यो हट्तालको तयारीको लागि बनेको थियो।वामपन्थी लेबर यूनियनहरूले बनेको सेन्ट्रल लेबर यूनियनले आठ घण्टा एशोसिएशनलाई पूरा सहयोग दियो, जुन फेडेरेशनदेखि लिएर नाइट्स अफ लेबर र सोशलिस्ट लेबर पार्टीसम्म सम्मिलित एक संयुक्त मोर्चा थियो।सोशलिस्ट लेबर पार्टी अमेरिकी मजदूर वर्गको पहिलो संगठित समाजवादी राजनीतिक पार्टी थियो।पहिलो मईको अघिल्लो दिन आइतबार सेन्ट्रल लेबर यूनियनले एक लामबन्दी प्रदर्शन गर्र्यो, जसमा २५००० मजदूरहरूले भाग लिए।
पहिलो मईमा शिकागोमा मजदूरहरूको एक विशाल बाढी मडारियो र संगठित मजदूर आन्दोलनको आव्हानमा शहरका सम्पूर्ण औजार चल्न बन्द भए र मेशिनहरू रोकिए।मजदूर आन्दोलनलाई कहिल्यै पनि वर्ग-एकताको यति शानदार र प्रभावकारी प्रदर्शनको महसुस भएको थिएन।त्यस बेला आठ घण्टाको कार्यदिवसको महत्त्वले र हड्तालको चरित्र तथा विस्तारले सम्पूर्ण आन्दोलनलाई एक विशेष राजनीतिक अर्थ दियो।पछिल्ला दिनहरूमा यो राजनीतिक अर्थ अझ गहिरो हुँदै गयो।कामको घण्टा आठ बनाउने आन्दोलन पहिलो मई १८८६ को हड्तालमा आफ्नो पराकाष्ठामा थियो। र, यसले अमेरिकी मजदूर वर्गको लडाइँको इतिहासमा एक नयाँ अध्याय जोडिदिएको थियो।
यस बेला मजदूरहरूका दुश्मन पनि चुप बसेनन्।शिकागोमा जुझारू मजदूर नेताहरूलाई खत्तम गर्न र मजदूर आन्दोलनलाई दबाउनको लागि छटपटाइरहेका मालिकहरू र शहरका प्रशासनका मिलिजुली शक्तिहरूले मजदूरहरूका जुलुशलाई गिरफ्तार गरे। ३ र ४ मईका घटनाहरू, जसलाई ‘हे मार्केट काण्ड’ भनिन्छ, स्पष्ट रूपमा पहिलो मईको हड्तालको परिणाम थिए। ४ मईमा हे मार्केट स्क्वायरमा भएको प्रदर्शनमा, ३ मईको मेककार्मिक रीपर वर्क्समा भएको मजदूरहरूको एक सभामा पुलिसको बर्बर हमलाको विरोध गर्ने आव्हान गरियो।यो क्रूर हमलामा ६ जना मजदूर मारिएका थिए र कैयौं घाइते भएका थिए।हे मार्केट स्क्वायरमा भएको यो सभा सकिन आँटेको बेलामा पुलिसले मजदूरहरूको भीडमाथि हमला गर्र्यो।यही बीचमा भीडमा अचनाक एक बम फ्याँकियो।यो हमलामा चार मजदूर र सात पुलिस मारिए।हे मार्केटको भयंकर रक्तपात, मजदूर नेताहरू पार्सन्स, स्पाइस, फिशर र एंजेललाई फाँसी तथा शिकागोका तमाम जुझारू नेताहरूलाई कैद गरिनु, आदि संघर्षरत मजदूरहरूलाई शिकागोका मालिकहरूको जवाफ थियो।सम्पूर्ण देशका मिल-फ्याक्ट्रीहरूका मालिकलाई चेतावनी प्राप्त भइसकेको थियो।सन् १८८५ को उत्तरार्धमा मालिकहरूले सन् १८८५-८६ को आन्दोलनको क्रममा गुमाएको आफ्नो पुरानो स्थितिलाई पुनः प्राप्त गर्नको लागि धेरै आक्रामक मार्ग अपनाए।
शिकागोका मजदूर नेताहरूको फाँसीको एक वर्षपछि फेडेरेसन (जुन अब अमेरिकन फेडेरेसन अफ लेबर नामले प्रसिद्ध भइसकेको थियो) का सेंट लुईको सम्मेलनमा सन् १८८८को कामको घण्टा आठ बनाउने आन्दोलनलाई नया शिराबाट जीवित गर्ने संकल्प लिइयो।अब एक परम्परा बनिसकेको र दुई वर्ष पहिले मजदूरहरूको राजनीतिक वर्ग-प्रश्नको आधारभा भएको संघर्षको केन्द्रबिन्दु भइसकेको पहिलो मईलाई कामको घण्टा आठ बनाउने आन्दोलन फेरि शुरुवात गर्ने दिन बन्ने सम्मान मिल्यो।पहिलो मई सन् १८९० मा सम्पूर्ण देशमा कम कार्यदिवसको लागि हड्तालहरू भए। सन् १८८९ को सम्मेलनमा अमेरिकन फेडेरेसन अफ लेबरका नेता सेमुएल गोम्पर्सको नेतृत्वमा हड्ताल आन्दोलनलाई सीमित गर्ने कोशिस सफल भयो।हड्तालको सबभन्दा राम्रोसँग तयार यूनियन मानिएको कारपेन्टर्स यूनियनले हड्तालमा पहल गर्ने र यदि यो पहल सफल सिद्ध भयो भने अन्य यूनियनहरू पनि हडतालमा हाम फाल्ने कुराको तय भयो।
मई दिवस अन्तर्राष्ट्रिय दिवस बन्यो
गोम्पर्सले आफ्नो आत्मकथामा मई दिवसलाई सम्पूर्ण संसारमा प्रचलित गर्नमा अमेरिकन फेडेरेसन अफ लेबरको योगदानलाई यसरी बताएका छन् – “कामको घण्टा आठ बनाउने आन्दोलनको विकास भइरहेको बेलामा हामीले आफ्नो विचारलाई कसरी विस्तारित गर्ने भन्ने बारेमा लगातार सोचिरहेका थियौं।पेरिसमा हुने मजदूरहरूको अन्तर्राष्ट्रिय कांग्रेस (इन्टरनेशनल वर्किंगमेन्स कांग्रेस) को समय निकट आइरहेको थियो, मलाई के कुरा बोध भइरहेको थियो भने यो कांग्रेसबाट विश्वव्यापी सहानुभूति पाएर हामी आफ्नो आन्दोलनलाई लाभ पुर्र्याउन सक्दछौं।” गोम्पर्सले धेरै पहिले नै आफ्नो सुधारवादी र अवसरवादी रूझानलाई देखाइदिएको थियो।उसका यी रूझानहरूले अगाडि गएर उसको वर्गसहयोगवादी नीतिमा पूर्णतः फलीभूत भयो।यही गोम्पर्स अब समाजवादी मजदूरहरूको त्यो आन्दोलनको समर्थ प्राप्त गर्न तत्पर थियो, जसको प्रभावको उसले जबर्जस्त विरोध गरेको थियो।
१४ जुलाई १८८९ मा बास्तीयको पतनको सयौं वर्षगाँठमा पेरिसमा कैयौं देशहरूको संगठित समाजवादी आन्दोलनका नेता जम्मा भए। उनीहरू पेरिसमा त्यो अन्तर्राष्ट्रिय संगठन (प्रथम इन्टरनेशनल) को जस्तै मजदूरहरूको एक अन्तर्राष्ट्रिय संगठन फेरि बनाउनको लागि जम्मा भएका थिए, जसलाई २५ वर्ष पहिले उनीहरूका महान शिक्षकहरू कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले बनाएका थिए।दोस्रो इन्टरनेशनलको स्थापना बैठकमा जम्मा भएका प्रतिनिधिहरूले अमेरिकी प्रतिनिधिहरूबाट सन् १८८४-८६ को क्रममा अमेरिकामा चलेको आठ घण्टा कार्यदिवसको आन्दोलनको बारेमा र हालै त्यसको नयाँ शिराबाट उठेको आन्दोलनको बारेमा सुने।अमेरिकी मजदूरहरूको उदाहरणबाट उत्साहित भएर पेरिस कांग्रेसले निम्न प्रस्ताव स्वीकार गर्र्यो – “कांग्रेस एक विशाल अन्तर्राष्ट्रिय प्रदर्शन आयोजित गर्ने निर्णय लिन्छ ताकि एक विशेष दिन, सबै देशहरूमा र सबै शहरहरूमा श्रमजीवी जनसमुदाय राजकीय अधिकारीहरूबाट कार्यदिवस कानूनी रूपमा घटाएर आठ घण्टा बनाउने तथा पेरिस कांग्रेसका अन्य निर्णयहरूलाई लागू गर्ने माग गर्दछ।यद्यपि अमेरिकन फेडेरेसन अफ लेबरले डिसेम्बर १८८८ मा आफ्नो सेन्ट लुई सम्मेलनमा, पहिले नै यस्तो प्रदर्शनको लागि पहिलो मई १८९० को दिन तय गरेको छ, त्यसकारण यो दिनलाई अन्तर्राष्ट्रिय प्रदर्शनको लागि स्वीकार गरिन्छ।विभिन्न देशका मजदूरहरूले आफ्नो देशको विद्यमान परिस्थितिहरू अनुसार यो प्रदर्शन अवश्य आयोजना गरिनुपर्दछ।”
सन् १८९० को मई दिवस कैयौं यूरोपीय देशहरूमा मनाइयो।अमेरिकामा समाजवादी पीटर मेकगाथरको नेतृत्वमा कार्पेन्टर्स यूनियनले आठ घण्टाको कार्यदिवसको मागलाई लिएर हड्ताल आयोजित गर्र्यो, जसमा निर्माण कार्यका मजदूरहरूका अन्य यूनियनहरूले पनि भाग लिए। समाजवादीहरूको विरुद्ध असाधारण कठोर नियमहरूको बाबजुद मजदूरहरूले जर्मनीका औद्योगिक शहरहरूमा मई दिवस मनाए। यद्यपि अधिकारीहरूले चेतावनी दिएका थिए र मजदूरहरूको दमनको प्रयास पनि गरे तर अन्य यूरोपीय राजधानीहरूमा पनि यसप्रकारका प्रदर्शनहरू भए।अमेरिकामा शिकागो र न्यूयोर्क शहरमा भएका प्रर्दशनहरूको विशेष महत्त्व थियो।कैयौं हजार मानिसहरूले आठ घण्टाको कार्यदिवसको मागलाई लिएर सडकहरूमा जुलुस निकाले र यी प्रदर्शनहरू शहरका मुख्य केन्द्रहरूमा खुला सभाहरूसहित समाप्त भए।
सन १८९१ को ब्रसेल्समा आयोजित पछिल्लो कांग्रेसमा इन्टरनेशनलले मई दिवसको मूल लक्ष्य अर्थात् कामको घण्टा आठ घण्टा बनाउने कुरालाई दोहोर्र्याउनुको साथै यो दिन अनिवार्य रूपले काम गर्ने परिस्थितिमा सुधार गर्ने र राष्ट्रहरूको बीचमा शान्ति सुनिश्चित गर्नको लागि पनि प्रदर्शन हुनुपर्दछ भन्ने कुरालाई जोड्यो।यो संशोधित प्रस्तावमा आठ घण्टाको कार्यदिवसको लागि “मई दिवसका प्रदर्शनहरूको वर्गचरित्र” र ती मागहरूको महत्त्वमाथि जोड दिइयो, जसले “वर्गसंघर्षलाई अझ गहिरो बनाइरहेका थिए।” प्रस्तावमा जहाँ संभव हुन्छ त्यहाँ काम रोक्ने माग पनि गरिएको छ। यद्यपि मई दिवसका हड्तालहरूको पछाडि केही विशेष र तात्कालिक मुद्दाहरू थिए तर इन्टरनेशनलले प्रदर्शनका उद्देश्यहरूलाई विस्तारित गर्ने र तिनीहरूलाई ठोस रूप दिने प्रियास शुरु गरिदियो।ब्रिटिश श्रमिक संगठनहरूले मई दिवसका तात्कालिक मागहरूमाथि पनि हड्ताल गर्नबाट अस्वीकार गरे र जर्मन सामाजिक जनवादीहरूसँग मिलेर मई दिवसको प्रदर्शनलाई मईको पहिलो आइतवारसम्म स्थगित गर्ने पक्षमा मतदान गरे।
अन्तर्राष्ट्रिय मई दिवसमाथि एंगेल्सको विचार
एंगेल्सले १ मई १८९० मा लेखिएको कम्युनिष्ट घोषणापत्रको चौथो जर्मन संस्करणको प्रस्तावनामा अन्तर्राष्ट्रिय सर्वहारा संगठनहरूको इतिहासको समीक्षा गर्दै प्रथम अन्तर्राष्ट्रिय मई दिवसको महत्त्वतर्फ ध्यानाकर्षित गरे :
“जब म यी पंक्तिहरू लेखिरहेको छु, यूरोप र अमेरिकाका सर्वहारा आफ्ना शक्तिहरूको समीक्षा गरिरहेका छन्, यो पहिलो मौका हो, जब सर्वहारा वर्ग एक झण्डा मुनि, एक तात्कालिक लक्ष्यको लागि, एक सेनाको रूपमा, गोलबन्द भएको छ : आठ घण्टाको कार्यदिवसलाई कानूनद्वारा स्थापित गराउनको लागि …….।यो हामीले देखिरहेको शानदार दृश्यले सम्पूर्ण दुनियाँका पूँजीपतिहर