01/05/2026
उज्यालोको किरण बिना अघि बढ्दा
आँखा खुलै भएर पनि बाटो हराइन्छ।
बाटो नबुझेको चाल
हल्ला त गर्छ, तर उपलब्धि जन्माउॅंदैन
गन्तव्य विहीन पाइला
धुलो उडाउन सक्छ, कथा रच्दैन।
त्यस्तो यात्रा
शरीरलाई बोझिलो बनाउॅंछ,
मनलाई 'किन' को जालमा अल्झाउॅंछ।
न त आशाको फल टाँसिन्छ।
न त विश्रामको छानो भेटिन्छ—
केवल हिँडाइको स्वर।
अर्थविहीन जप र भाषणले
हल्ला त धेरै उठाउँछ,
तर मनमा कुनै ज्योति बाल्दैन।
शब्दहरू गुन्जिरहन्छन्,
अर्थ भने कतै जन्मिँदैन—
अन्त्यमा बाँकी रहन्छ
घाँटीको जलन र
मनको खालीपन मात्र।
अर्थ नपुगेको बाटोमा जिद्दी अडान
बुद्धि होइन,
आफ्नै अस्तित्वमाथि
थपिएको अनावश्यक यातना हो।