05/05/2026
कविता
शीर्षक : कविको कविता
शार्दूलविक्रीडित
बिमला चन्द सानू
बैतडी
हाल : काठमाडौं
फुल्छन् सात्विक कामना हृदयका जाग्छन् नयाँ चाहना
लेखिन्छन् कविता सुरम्यपनमा गर्ने भए साधना
नेपालीपन शब्दकोश रसिला भाषा हुने गौरव
राम्रो चेत समाजका रचयिता वास्ना छरून् शौरभ ।
ज्ञानी पाठक भन्दिऊन् कति मिठो बोलेर झन् सानले
भाषा भेष कला समाजतिरको राखून् निकै मानले
बन्छन् जो कवि सभ्य भाव मनका उत्साह राखून् सदा
भर्छन् मानकले सुधा रस लिई विज्ञानमा शारदा ।
राम्रा काम विशेषका सगुण हुन् सत्ज्ञानका पावन
राख्नेछन् कवि शुभ्र भाव मनमा सत्कर्मको सावन
आफ्नो स्वच्छ विचारले मनुजका सम्झेँ पुराना कुरा
दिन्छन् झापड मातको लत भए शब्दावली आँकुरा ।
भोग्छन् जीवन सादगी सरलमा हुन् व्योमका साधक
आफ्नो देश बचाउने बखतमा पुग्छन् बनी चालक
फुट्दैछन् नव कोपिला रहरका यो देश हाक्छौँ भनी
दिन्छन् साहस साथमा कुसुमले फुल्छन् बगैंचा भरी ।
बोल्छन् शब्द कडा असभ्य ननिका छन् जोडका कामना
नारी सर्जक लेख्दछन् गजबले योद्धा भए चाहना
मिल्नेछन् शुभ कर्मका पथहरू हिँड्दै गरे नायक
स्रस्टा काव्य कला विलुप्त नहुने यस्तै बनून् लायक ।
घट्छन् जो घटना सचित्र जगको खम्बा सदा बन्दछ
जे जे छन् सब सत्यता निडरले जो सर्वदा भन्दछ
राख्छन् ख्याल विचार शिष्टपनको सद्भावको द्योतक
राखी देश हिमाल झै शिखरमा हो राष्ट्रको रक्षक ।
माया प्रेम दया छ भाव मनमा कैलाश हो आँगन
कर्णाली तट बोल्छ भाष्य कविको हो काव्यको योजन
लेख्छन् काव्य कला छ मौलिकपना सौन्दर्यमा साधन
आफ्नै धर्म परम्परा नजिकको मीठो छ आफ्नोपन ।।