04/04/2026
नेपालको वर्तमान अवस्था हेर्दा एउटा कुरा प्रस्ट देखिन्छ.. गुन्डागर्दी, ठगी र डरको संस्कृति हाम्रो समाजमा नयाँ भएर आएको होइन, बरु वर्षौंदेखि बिस्तारै गहिरिँदै आएको समस्या हो। समय बदलियो, सरकार बदलियो, नीति बदलिएको जस्तो देखियो, तर जमिनको वास्तविकता धेरै ठाउँमा उस्तै छ। फरक यत्ति हो.. पहिला यो गल्ली र समूहमा सीमित थियो, अहिले यो खुलेआम सामाजिक सञ्जालमा देखिन थालेको छ।
आजको युवापुस्तामा “शक्ति देखाउने” एउटा ट्रेन्ड बनेको छ।
TikTok, Facebook, Reels मा पाखुरा देखाउने, समूह बनाएर हतियार देखाउने, खुकुरीले केक काट्ने, भिडमा आफ्नो presence देखाउने. यी सबै केवल रमाइलोको लागि होइन, यो चिनिने, डर देखाउने र influence बनाउने माध्यम बनिसकेको छ। समाजले हेर्छ, लाइक गर्छ, शेयर गर्छ. अनि त्यो नै validation बन्छ। त्यसपछि अरु युवाले पनि त्यही बाटो समात्छन्।
यो अवस्था किन आयो?
किनकि हाम्रो समाजमा बिस्तारै एउटा गलत मान्यता बस्दै गयो
डर देखाउने मान्छे “strong”, “powerful” र “connected” हुन्छ।
र जब समाजले यस्तो व्यवहारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वीकार गर्छ, त्यहाँबाट समस्या अझै गहिरिन्छ।
यसैबीच, अहिले फेरि नयाँ गृहमन्त्री सुदन गुरुङ आएपछि “नाइट अपरेशन” सुरु भएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई समातिएको छ, भिडियोहरू हटाइएका छन्, समूहहरू तोड्ने प्रयास भइरहेको छ। सतहमा हेर्दा यो सकारात्मक कदम हो, र कानुन लागू हुनु अनिवार्य पनि छ।
तर गहिरो प्रश्न त्यहीँ छ
के यो दीर्घकालीन समाधान हो, कि फेरि केही समयको लागि मात्र देखिने एक्सन?
हामीले विगतमा पनि धेरै पटक यस्तै देखेका छौं।
काठमाडौं उपत्यकामा विभिन्न समयमा SSP हरूको नेतृत्वमा कडा अभियान चले—क्लबहरूमा छापा, समूहहरूमा निगरानी, सडकमा कडाइ। केही समयका लागि शान्ति आयो। मानिसले महसुस गरे—अब केही सुधार भयो। तर केही महिना बित्न नपाउँदै फेरि उही दृश्य, उही शैली, उही डर फर्कियो।
किन यस्तो चक्र दोहोरिन्छ?
किनकि हामीले समस्या सतहमा मात्रै समात्यौं, जरा कहिल्यै उखेलेनौं।
👉 बेरोजगारी र अवसरको अभाव
नेपालका धेरै युवा अझै पनि स्पष्ट दिशा र अवसर बिना छन्। जब काम छैन, भविष्य अनिश्चित छ, तब शक्ति देखाएर चिनिनु सजिलो विकल्प जस्तो देखिन्छ।
👉 सामाजिक सञ्जालको प्रभाव
आज गलत कामले पनि भ्यूज र फेम दिन्छ। जसले जति देखायो, उसले त्यति attention पायो। यसले गुन्डागर्दीलाई पनि “कन्टेन्ट” बनाइदियो।
👉 राजनीतिक छायाँ
कतिपय समूहहरू शक्तिशाली व्यक्तिहरूसँग जोडिएका हुन्छन्। यसले कानुनलाई कमजोर बनाउँछ र accountability हराउँछ।
👉 समाजको भूमिका
हामी आफैंले कहिलेकाहीँ डर देखाउनेलाई “दमदार” भनेर हेर्छौं। यही सोचले गलतलाई ऊर्जा दिइरहेको छ।
👉 प्रहरीको सीमितता
प्रहरीले समात्न सक्छ, नियन्त्रण गर्न सक्छ—तर यदि सिस्टमले सुधार गर्ने व्यवस्था दिन सकेन भने, फेरि त्यही व्यक्ति उही बाटोमा फर्किन्छ।
अनि यहाँ अर्को गम्भीर कुरा उठ्छ—
कानुन लागू गर्ने शैली कस्तो छ?
यदि कारबाही केवल देखाउने, शक्ति प्रदर्शन गर्ने, डर देखाउने शैलीमा भयो भने, त्यसले आफैंमा अर्को किसिमको सन्देश दिन सक्छ।
युवाले के बुझ्छ?
कि शक्ति भनेको डर हो।
कि जसले कडा देखायो, उसैको राज चल्छ। या त प्रहरी , या त केहि फरक बिचार बोकेका ब्यक्तिहरु
त्यसो भए गल्लीको गुन्डा र सिस्टमको व्यवहारबीच फरक कहाँ रह्यो?
यदि हामीले सोच परिवर्तन गर्न सकेनौं भने,
गुन्डागर्दी केवल रूप फेर्छ—कहिले सडकमा, कहिले सिस्टमभित्र।
त्यसैले यो लडाइँ केवल अपराधी समात्ने होइन—
यो समाजको सोच, संरचना र भविष्य बदल्ने लडाइँ हो।
अब के गर्नुपर्छ?
कडा कारबाही आवश्यक छ—तर त्यो मात्र पर्याप्त छैन।
पक्राउसँगै सुधारको बाटो दिनुपर्छ।
युवालाई सीप, रोजगारी र दिशा दिनुपर्छ।
राजनीतिक हस्तक्षेप हटाउनुपर्छ।
प्रहरीलाई स्वतन्त्र र जिम्मेवार बनाउनुपर्छ।
सामाजिक सञ्जालमा जिम्मेवारी बढाउनुपर्छ।
र सबैभन्दा ठूलो कुरा—समाजले गलतलाई “ग्लोरिफाइ” गर्न छोड्नुपर्छ।
यो केवल सरकारको जिम्मेवारी होइन।
यो हामी सबैको साझा जिम्मेवारी हो।
आजको अपरेशनले सन्देश दिएको छ—केही भइरहेको छ।
तर भोलिको नेपाल कस्तो हुन्छ भन्ने कुरा,
हामीले आज कस्तो सोच बनाउँछौं त्यसमा निर्भर छ।
हामी डरमा चल्ने देश बनाउने हो?
कि अवसर, न्याय र चेतनामा आधारित समाज?
यदि साँच्चै परिवर्तन चाहिएको हो भने,
क्षणिक एक्सन होइन, गहिरो सुधार चाहिन्छ।
नत्र केही समयपछि फेरि उही खबर आउनेछ,
फेरि उही भिडियो भाइरल हुनेछ,
र हामी फेरि यही प्रश्न सोधिरहेका हुनेछौं।
अहिले social media मा फरक मत राख्नु भनेको अपराध जस्तो भएको छ। आफ्नो विचार राख्नेबित्तिकै गाली, अपमान र attack सुरु हुन्छ। अमिशा पराजुली जस्ता हजारौँ चेलीहरू comment section मै शब्दले नाङ्गो बनाइन्छन्।
यो केवल व्यक्तिमाथि हमला होइन, हाम्रो समाजको सोचको समस्या हो। असहमतिलाई दुश्मनी बनाउने संस्कारले सबैलाई बोल्न डर लाग्ने बनाउँदैछ।
✍️सबिन गुरुङ, परिवर्तनको पक्षमा
***nShah ***n
#कामरेड_आवाज #परिवर्तन #नयाँनेपाल #युवा_शक्ति #सचेत_नागरिक #व्यवस्था_परिवर्तन