05/12/2025
प्रीय सबैला नगरका युवा तथा धनुषा क्षेत्र नम्बर १ का दाजुभाइ दिदीबहिनीहरू,
तपाईंहरुले सरोज यादवप्रतिको भरोसा, सम्मान र स्नेहका साथ उहाँलाई प्रतिनिधि सभा चुनावमा उभिन आग्रह गरिरहनुभएको छ। नागरिकलाई आफ्नो मनको कुरा खुला रूपमा भन्नु अधिकार पनि हो, र सरोज यादवप्रतिको जनताको यत्ति ठूलो माया देख्दा म स्वयं पनि हर्षित र गौरवान्वित महसुस गर्छु।
तर, यही माया र विश्वासलाई सम्मान गर्दै, मेरो व्यक्तिगत धारणा भने फरक छ। वर्तमान समयमा सरोज यादवले प्रतिनिधि सभा होइन, सबैला नगरपालिकाको नेतृत्व लिनु अत्यन्त आवश्यक छ।
हामी सबैलावासीले पछिल्ला ८ वर्षदेखि झेलेका समस्या-भ्रष्टाचार, अनियमितता, जनतासँगको दूरी, विकासका नाममा चलेका हचहचाहा, यी सबै अन्त्य गर्नका लागि सरोज यादव मेयर भएर आउनु अत्यधिक जरुरी छ। सरोज यादवजस्ता इमानदार, सक्रिय र जनमुखी व्यक्तित्व ठ्याक्कै अहिले सबैलालाई चाहिएको मेरुदण्ड हुन्।
म स्वयं पनि सबैला नगरपालिकाको एक नागरिक हुँ, त्यसैले नगरको भविष्यप्रति मेरो स्वार्थ, चिन्ता र जिम्मेवारी दुवै छ। हामीले चाहेको सुन्दर, सक्षम र पारदर्शी नगरपालिका अहिलेको अवस्थामा प्रत्यक्ष रूपमा सरोज यादवको नेतृत्वमा मात्रै सम्भव देखिन्छ।
त्यसैले,
उहाँलाई अहिले प्रतिनिधि सभामा अघि नबढौं। बरु, हाम्रा बहस, ऊर्जा र प्रयासलाई सरोज यादवलाई सबैला नगरपालिकाको मेयर कसरी जिताउने भन्ने दिशामा केन्द्रित गरौँ।
सबैला नगरवासीले परिवर्तनको सम्भावना देखेका छन,
यो परिवर्तनलाई अधुरो नछोडौँ।