21/04/2026
नयाँ वर्षलाई विशेष तरिकाले स्वागत गर्न हामी हेटौंडा हाइकर्सका साथीहरू नयाँ वर्षको पहिलो शनिबार बिहान ५:३० बजे जम्मा भयौं र “लालिगुराँस हाइक” सुरु गर्यौं। बिहानको शान्ति, चिसो हावा, र आकाशको हल्का गुलाबी रङ्गले हाम्रो स्वागत गर्यो।
सुरुमा हामीले साथीहरूसँग गफ, हाँसो, चिनजान साटासाट गर्दै, हाइक गर्दा ध्यान दिनुपर्ने नियमहरूबारे छलफल गर्यौं। ६ बजेसम्म करिब ८५ जना साथीहरू जम्मा भए। उत्साह, मिठो हाँसो र नयाँ मित्रताको मिश्रणले हाम्रो यात्रा अझ रमाइलो बनायो। बस आइपुग्यो, र हामी देउराली तर्फ अघि बढ्यौं।
देउरालीमा, वडा अध्यक्ष ज्यु र स्थानीय व्यवसायीहरूले माया र सम्मानका साथ हामीलाई स्वागत गर्नुभयो। खादा र माला लगाएर, खाजा खाँदै र ठाउको जानकारी लिँदै हामी पदयात्रा तर्फ अघि बढ्यौं।
उकालो बाटोमा प्रकृतिले हामीसँग खेल खेलायो छिनमै घाम अनुहारमा पर्यो, छिनमै हुस्सुले ढाक्यो, अनि छिनमै पानीको छिट्टाले भिजायो। तर यी अनुभवहरूले थकाइ होइन, उत्साह र आनन्द थपे। बाटोभरि पकाएका ऐसेलु टिप्दै, रमाइलो गफ गर्दै, साथीहरूसँग नाचगान गर्दै हामी अघि बढ्यौं।
वनमा फुलेका लालिगुराँसले बाटोलाई रातो कार्पेट जस्तो ढाकेका थिए। घाँसे मैदान, चिसो बतास, र उडेको बादल सबैलाई हामीले मन र क्यामेरामा कैद गर्यौं। कहिले फूलसँग फोटो, कहिले साथीहरूसँग थकित क्षणहरूमा पनि एक अर्काको हौसला बनी हामी करिब तीन घण्टामा आलु खोरिया चौर पुग्यौं।
आलु खोरिया पुग्दा हामीले लालिगुराँस टिप्नु हुँदैन भन्ने महत्व र यसको संरक्षणबारे छलफल गर्यौं। फूल टिप्दा कस्तो घाटा हुन्छ, किन यो आवश्यक छ कि हामी यसलाई बचाइराखौं, र यसको संरक्षणमा हाम्रो भूमिका के हो—सबै कुरा साझा गर्यौं।
त्यसपछि खाजा साट्दै, नाचगान गर्दै हामी रमाइलो गर्यौं। पदयात्रा भरि फूल नटिपेकोमा एक अर्कालाई धन्यवाद दिंदै हामी फर्कियौं।
यो हाइक केवल पदयात्रा मात्र थिएन। यो साथीको साथ, प्रकृतिसँगको गहिरो जडान, र संरक्षणको शिक्षा लिएर फर्किने सुन्दर अनुभव थियो।
सहभागी सबैलाई धन्यवाद! हामी विश्वास गर्छौं, अर्को हाइकमा फेरि भेट्ने छौं।