17/07/2026
विद्यालयका कुरा
विद्यालयमा सम्पन्न भएका विविध शैक्षिक तथा सिर्जनात्मक गतिविधिहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौँ।
मंगलादेवी मा.वि. पूर्व विद्यार्थी शैक्षिक कोषको आयोजनामा सम्पन्न स्वतन्त्र लेखन प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक लेखन, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गरेको छ। यस उत्कृष्ट कार्यक्रमका लागि पूर्व विद्यार्थी शैक्षिक कोषप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
त्यसैगरी, गणित, विज्ञान र अङ्ग्रेजी विषयको शैक्षिक सत्र २०८३ को वैशाखदेखि असारसम्मको शैक्षिक प्रगति समीक्षा गर्दै अध्यापनका क्रममा देखिएका चुनौतीहरू पहिचान गरी तिनको समाधानका व्यावहारिक उपायहरूबारे शिक्षकहरूबीच सार्थक छलफल सम्पन्न गरिएको छ। यसले आगामी दिनमा सिकाइ उपलब्धि अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ।
यस अवसरमा सरुवा भई जानुभएका शिक्षक श्री रविन कुमार ठाकुर ज्युलाईलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बिदाइ तथा आगामी कार्यजीवनको सफलताको शुभकामना व्यक्त गर्दछौँ र रविन सरले विद्यालयकाे अक्षयकाेषमा रु. ५५५५।-। जम्मा गरिदिनु भएकाेमा उहाँ प्रती विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ। साथै, विद्यालयमा नवआगमन गर्नुभएका शिक्षिका श्री तृप्ती याखा ज्युलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभेच्छा व्यक्त गर्दछौँ।
विद्यार्थी र शिक्षकहरूको सक्रिय सहभागितामा विद्यालय परिसर सरसफाइ कार्यक्रमसमेत सम्पन्न गरिएको छ। स्वच्छ, सुरक्षित र सिकाइमैत्री विद्यालय वातावरण निर्माणमा सबैको सहयोगप्रति हार्दिक धन्यवाद।
सूचना: विद्यालयमा श्रावण ४ गतेदेखि श्रावण १५ गतेसम्म वर्षे (मिनपचास) बिदा रहने र श्रावण १८ गतेबाट पुन: विद्यालय निरनतर सञ्चालन हुने जानकारी सम्बन्धित सबै विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा अनुरोध गरिन्छ। बिदापछि तोकिएको मितिमा नियमित रूपमा विद्यालय उपस्थित भई पठनपाठनलाई निरन्तरता दिन सबैमा अनुरोध छ।
धन्यवाद।
मंगलादेवी माध्यमिक विद्यालय परिवार
चौविसे गाउँपालिका वडा नं ५ बाेधे धनकुटा