04/02/2026
ल ध्यान दिउँ है त?
कथा १
एउटा देशमा एकाएक जनसागर ओइरिन्छा । शान्तिपूर्ण प्रदर्शन हुन्छ । अनि भीड नियन्त्रण भन्दा बाहिर लाग्छ। गोली चल्छ। कलिलो शरीर ढल्छ।
कार्यपालिका प्रमुख भन्छ : आदेश मैले दिने होइन ।
समर्थक भन्छन् : विभागीय प्रमुख दोषी, सम्बन्धित अधिकारी दोषी, किन हाम्रो नेतालाई दोष?
कथा २
त्यही देश मा अर्को दिन विध्वंशक आन्दोलन हुन्छ । जल्न नपर्ने संरचना जल्छन् । कैयु इतिहास ढल्छन्। विभिन्न निस्सा, किस्सा बदल्छन् । अनि सबै भन्दा पुरानो ऐतिहासिक सिंहदरबार खरानीमा बदल्छन् । आर्मीको एउटा सिङ्गै गण उपस्थित तर अस्तित्व रोकेनन्, नजिकैको पालिकाको दमकलले साइरन ठोकेनन् ।
कार्यपालिका प्रमुख भन्छन् : हामीले कोसिस गर्यौ सकेनौं ।
समर्थक भन्छन् : कोसिस गरेकै हुन सकेनन्, छेकाई मा परे, जान पाएनन्, आर्मी ले रोक्न किन सकेन ?
अनि
एक थरी विश्लेषकहरुको स्पष्टोक्ती,
कथा २ का पात्र दोस्रो घटनाका मुख्य नाइके हुन । कथा १ त विभागीय को जिम्मेवारी हो ।
पहिलै भनेका थिए । पुरा गरे । फाँसीमा झुन्ड्याउनु पर्छ ।
अर्का थरी प्रष्ट्याउँछन्, कथा १ का पात्र प्रमुख दोषी हुन्, जेल कोचेर भएभरको सबै क्षतिपूर्ति असुलउपर गराउनु पर्छ ।
दुवै अप्रिय घटना हुन । हुनै हुँदैनथ्यो । भयो, देशले ठूलो जन धनको क्षति बेहोर्न पर्यो । प्राण गयो, अब आउँदैन फर्की । संरचना बरु बन्लान् पर्खी ।
एउटा कार्यकारीले आदेश दिँदैन भने अर्को ले कसरी दिन्छ?
एउटा ले दिन्छ भने अर्को ले किन दिँदैन?
दुवै घटनाको फरक फरक चोट भार होलान् तर मर्मिक्ता, व्यवहारिकता तथा अस्तित्व हेर्ने हो भने कुनले बढी विक्षिप्त बनाएको छ, अनि कुन कुरा पुनः प्राप्ति गर्न सकिन्छ कुन सकिन्न?
आखिर हामी निष्पक्ष भएर कहिले विश्लेषण गर्ने? अनि हामी सधैं पक्षधरता मै सिमित हुने हो?
साथमा माथिको घटनालाई अझ प्रस्ट पार्ने सामान्य गाउँले भाषाको अर्को सानो किस्सा जोड़ें, कथा ३
एउटा गाउँ रहेछ, गाउँमा धेरैको आफ्नै कामकाज, आफ्नै रहनसहन । त्यही गाउँको एउटा अगुवा व्यक्ति हरेक दिन गाउँले सबैलाई कुनै न कुनै बहानामा केही आशा देखाउने, केही नयाँ दिने, र उसको पछि लाग्न बाध्य बनाउने । कामचलाउ रूपमा सबै पूरा गरेजस्तो देखाउँदै सबैको मन जितेको पनि । उसले बिस्तारै सबैलाई उसको अन्धभक्त बनाउन सफल भएछ । अनि एक दिन सबै मानिस एकोहोरो भएर उसको पछि लागेछन । पछि विस्तारै अभाव हुँदै गयो । भनेको ठाउँमा चाहेको कुरा नहुँदा मान्छे किन भएन भनेर प्रश्न गर्न लागे ।यहाँ को कहा गयो भन्न लागे । बिस्तारै सबैले पीडा पोख्न लागे, दिक्क मान्न लागे, रिस पोख्न लागे, कसैले खाना नपाएर, कसैले पिउन नपाएर, कसैले लाउन नपाएर त कसैले जिउँन नपाएर । यस्तै यस्तैमा एक दिन सबै नजिकैको बगरमा भेला भएर विरोध गरेछन । एकाएक भेलबाडी आएर धेरैलाई बगाएछ । बाँकी हुने रुवाबासी, चिच्याटहत, भाँडभैलो गर्दै डोजर लिएर खोलै भत्काइदिएछन् । बग्ने प्रष्ट बाटो नभएर पानि बस्तीमा पसेर सबै घर गोठ बगाईदिएछ । आखिर चोट त गाउँलाई नै पर्यो । नमार्नु आफ्नै छिमेकी मर्यो । सब विरोधीहरुकै कारण, हो आखिर अगुवाले के गर्यो?
सम्झनुस् त, यो तेस्रो कथामा तपाईंको विचारको दोषी को?
१. आश गर्ने गाउँले
२. प्रश्न गर्ने गाउँले
३. विरोध गर्ने
४. आक्रोशमा होस् गुमाउने गाउँले
५. त्यो अवस्था मा पुर्याउने अगुवा
विचार तपाईंको, जवाफ तपाईंको ।