02/06/2026
MRP तथा नापतौल सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
विराटनगर, जेठ १९, २०८३ ।
विराट व्यापार संघ को आयोजनामा MRP तथा नापतौल सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम विराटनगर–५, मुनालपथस्थित रविज होटलमा भव्य रूपमा सम्पन्न भएको छ।
उद्योगी तथा व्यवसायीलाई एम.आर.पी. तथा नापतौल सम्बन्धी ऐन, कानुन र प्रावधान बारे जानकारी गराउने उद्देश्यले विशेष अर्न्तक्रिया कार्यक्रम आयोजना गरिएको विराट व्यापार संघका अध्यक्ष प्रमोदकुमार अग्रवाल (जिन्दल) ले जानकारी गराउनुभयो साथै विराट व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्यामलाल पौडेल (भवेष) ले एम.आर.पी. नयाँ नभई पुरानो ऐन भएकोले व्यवसायी यसलाई विस्तारै लागु गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा विराटनगर तथा आसपास क्षेत्रका उद्योगी, व्यवसायी, व्यापारी प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वस्तु तथा सेवाको मूल्य निर्धारण, अधिकतम खुद्रा मूल्य (MRP), नापतौलसम्बन्धी प्रचलित कानुनी व्यवस्था, उपभोक्ता अधिकार संरक्षण तथा व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने मापदण्डबारे विस्तृत छलफल गरिएको थियो।
सहयोगी संस्थाका रूपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका निमित्त कार्यालय प्रमुख हितेष बस्नेतले एम.आर.पी. को ऐन कानुन र प्रावधान बारे तथा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका सहायक निरीक्षक संजयकुमार यादवले नापतौल ऐन कानुन र प्रावधान बारे कार्यपत्र प्रस्तुत गराउनुभएको थियो साथै प्रतिनिधिहरूले व्यवसायीहरूका जिज्ञासाको समाधान गर्दै कानुनी प्रावधान र व्यवहारिक पक्षबारे जानकारी प्रदान गराउनुभयो।
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले व्यवसाय सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। सहभागीहरूबीच भएका सुझाव, अनुभव आदान–प्रदान तथा रचनात्मक छलफलले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।
सम्पूर्ण उद्योगी–व्यवसायीहरूको उत्साहजनक सहभागिता, सहयोग र सकारात्मक योगदानका कारण कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। यस्ता कार्यक्रमहरूले व्यवसायिक क्षेत्र र सरकारी निकायबीच समन्वय अभिवृद्धि गर्दै स्वस्थ तथा जिम्मेवार व्यावसायिक वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।