15/04/2026
बिस्का जात्रामा महेश्वरी जात्रा
बिस्का जात्राका विभिन्न किंवदन्तीहरु पढ्नु/ सुन्नु भएकै होला । ती सम्पूर्ण किंवदन्तीहरुमा भैरव र भद्रकालीको माया पिरतीका कथाहरु सुन्नु भएकै होला । ती कथाहरुसंगै माता महेश्वरीको कथा भने सायद कमैले मात्र सुनेको हुनुपर्छ । हुनत ब्रम्हायणी र महेश्वरीको खट जुधाउने जात्रा त पक्कै हेर्नू भएकै होला । महेश्वरीको जात्रा अन्तर्गत खट जुधाई बाहेक पनि अरु किंवदन्तीहरु रहेका छन । आज हामी यसै प्रसंगमा कुरा गर्दैछौं ।
माता महेश्वरीलाई भगवान महेशको शक्तिको श्रोतको रुपमा लिइन्छ । महेश्वरीकै शक्तिबाट महेशले विभिन्न दैत्य शक्तिको संहार गरेका थिए । हुनत माता महेश्वरीको पुरुष शक्तिलाई रुरु भैरव भन्ने गरिन्छ । माता महेश्वरीलाई रुद्रायणी नामले पनि पुजिने गर्दछ भने भक्तपुरमा स्थानिय भाषामा बाता अजिमा पनि भन्ने गरिन्छ ।
बिस्का जात्रालाई भक्तपुरको प्रमुख जात्राको रुपमा मनाउने गर्दछ जसमा भैरव र भद्रकालीको जात्रा मुख्य हुने गर्दछ । जुन चैत मसान्तको चार दिन अगि (चैत २७ वा २८ गते) देखि शुरु भई बैशाख ५ गते सम्म मनाउने गर्दछ । बिस्का जात्राको शुरुको दिन महेश्वरी मातालाई तान्त्रिक पूजा गरि सिंहासनबाट खटमा राख्ने गरिन्छ ।
चैत मसान्तका दिन चुपिंघाटमा यसिंद्य: उभ्याइ सकेपछि महेश्वरी माईलाई द्य:छेंबाट खटमा राखेर हर्षोल्लास गरि पिठमा लगिन्छ । जहाँ तलेजुबाट सरकारी पूजा हुन्छ भने गुठी संस्थानबाट बोका र बैद्यहरुको फैचा गुठीबाट भोडाका साथ पञ्चबलि दिई पूजा हुने गर्दछ ।
बैशाख १ गते यसिंद्य: ढाली सकेपछी महेश्वरी माईलाई महेश्वरी पिठबाट खटमा राखेर वाचुत्वमा रहेको दबलीमा पुर्याइन्छ ।
बैशाख २ गते सबैभन्दा पहिले महेश्वरीले आफ्नी दिदी माता ब्रम्हायणीलाई बोलाउने भनेर सूर्यमढी तिर खट लगिन्छ । यसै बिच सिद्धि गणेश र ईन्द्रसिद्धी बिनायक भने ईनाचो टोलमा सबैको बाटो पर्खी रहन्छ । महेश्वरी माईले पहिला मच्व भैरव, तलातुन्छी गणेश, त्वचा बालकुमारी, सलां गणेश, तचपाल बालकुमारी, आकाश भैरव (थालाछें), कुतिप्वाक गणेश (नागांचा) र भाजं भैरव (क्वाठण्डौ) लाई निम्तो दिएपछि अन्तमा ब्रम्हायणी माईलाई निम्तो दिने गर्दछ । ब्रम्हायणी माईलाई अन्तमा बोलायो भनेर ब्रम्हायणी र महेश्वरीको मनमुटाव हुन्छ । त्यसैको परिणाम स्वरुप सूर्यमढीमा ब्रम्हायणी र महेश्वरी माईको खट तीन पटक जुधाईन्छ । ईनाचोमा आई पुग्दा त्यहाँ ११ खटहरु पुगि सकेका कारण दिदीबहिनीको पुन: मनमुटाव हुन्छ र इनाचो टोलमा खट तीन पटक खट जुधाईन्छ । हाल उक्त १२ खटहरु मध्ये ८ खटको मात्र जात्रा हुने गर्दछ ।
खट जात्रा पछि ब्रम्हायणी माईको पछिपछि भैरव, गणेश सबै जना आ-आफ्नो स्थानमा फर्किन्छ । महेश्वरी माईलाई द्य:छें मा लगिन्छ । साँझको समयमा महेश्वरी माईलाई चौरासी ब्यञ्जनको भोक लगाइन्छ । उक्त चौरासी ब्यञ्जनमा यस धर्तीमा उब्जाउ भएका सम्पूर्ण अन्न, फल, फूल, दाल, मसला, गेडागुडी आदि पर्दछ । चौरासी ब्यञ्जन पश्चात् पाँच थरीको परिकार र पाँच थरीको तरल पदार्थ (दूध, जाँड, रातो जाँड, पानी, रक्सी) राखेर तीन भागको भोज चढाइन्छ ।
बैशाख ३ गते चोर्चा गणेशको जात्रा पछि "द्य: स्वगं बिगु" (देवताहरुलाई सगुन दिने) गर्न ब्रम्हायणी माताको जात्रा गरि ब्रम्हायणी मातालाई तचपालमा पुर्याइन्छ । त्यसपछी महेश्वरी माईलाई पनि द्य:छेंबाट ईनाचोको ताहाफल्चामा राखिन्छ ।
बैशाख ४ गते नगर भरी द्य:स्वगं बिगु भनेर भक्तजनहरुले आफ्नो ईच्छा अनुसार सामानहरु चढाइन्छ । बैशाख २ गते हामी आउन लागे भनेर खबर पुर्याउन महेश्वरी माईले "त्वासं" (एक प्रकारको सामान) ब्रम्हायणी माईकोमा पुर्याएको हुन्थ्यो । बैशाख ४ गते उक्त त्वासं पुन: ब्रम्हायणी माईले महेश्वरी माईकोमा फिर्ता ल्याइन्छ । यस दिन पनि ईनाचो टोलमा तीन पटक खट जुधाउछ । त्यसपछि ब्रम्हायणी अगि अगि र महेश्वरी माई पछिपछि लागेर तचपालको भिमसेनको कुन्चा सम्म जान्छ । त्यहाँ पनि पुन: तीन पटक खट जुधाइन्छ । त्यस पछि ब्रम्हायणी माई आफ्नो द्य:छें तिर लाग्छ भने महेश्वरी माई ईनाचोमा फर्किन्छ । महेश्वरी माई फर्किने बेला महेश्वरीको पछिपछी सलाँ गणेश पनि आउने गर्दछ । ईनाचोमा रहेको स्वँग ल्वहँलाई तीन पटक परिक्रमा गरि सलाँ गणेश फर्किने गर्दछ भने महेश्वरी माई टोल परिक्रमा गर्ने गर्दछ । वाचुत्व, खँचा, सबुंगचामा जाने गर्दछ । यदि सबुंगचामा ब्रम्हायणी माईसंग भेट भए त्यहाँ पनि खट जुधाउनु पर्नेछ । तर त्यहाँ भेट्छ भने कुनै अनिवार्यता भने छैन । त्यसपछी सूर्यमढी पुर्यायर पुन: फर्काएर मक्व टोलमा लगिन्छ । मक्वबाट, वाचुत्व, ईनाचो हुन्दै चोर्चा टोलमा लगिन्छ । चोर्चामा तीन स्थानमा रोकेर पूजा लिएर जात्रा गर्ने गर्दछ । यो जात्रा पुरै रातभर चल्ने गर्दछ ।
बैशाख ५ गते महेश्वरी माईलाई ईनाचो पुर्यायपछी शाक्यहरुको अन्तिम पूजा लिने गर्दछ । त्यसपछि द्य:छेंको पूजा थापेर दुलहीलाई भित्र्याए जस्तै गरि भित्र्याउने गर्दछ । द्य:छें भित्रेपनि सिंहासनमा भने बस्दैन ।
बैशाख ७ गते महास्नान गरि तान्त्रिक पूजा (बिच: पूजा) गरिन्छ । उक्त पूजा पश्चात् मात्र सिंहासनमा बिराजमान गरिन्छ ।
लेख: GR Ranjit