31/03/2026
A coordination meeting was held on Chaitra 17, 2082, under a project by Sahara Nepal with support from Swallows of Finland. The meeting, chaired by the chairperson of Mashta Rural Municipality, brought together local officials and stakeholders.
Discussions focused on improving food security, sustainable livelihoods, and women empowerment. Participants reviewed progress, challenges, and future plans, emphasizing stronger coordination and collaboration for effective implementation.
समन्वय तथा सहकार्य बैठक सम्पन्न
मिति २०८२ साल चैत्र १७ गते, मष्टा गाउँपालिका बझाङ्ग
स्वालोज अफ फिनल्यान्डको आर्थिक सहयोगमा साहारा नेपाल बझाङद्वारा सञ्चालित “खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण” परियोजनाअन्तर्गत मष्टा गाउँपालिका तथा जिल्लास्थित सरोकारवाला संस्थाहरूबीच समन्वय तथा सहकार्य बैठक सम्पन्न भएको छ।
मष्टा गाउँपालिकाको कार्यालयको बैठक कक्षमा आयोजित उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष हर्क धामी, वडा नं. १ का अध्यक्ष रामचन्द्र रोकाया, वडा नं. ४ का अध्यक्ष उत्तमराज जोशी, वडा नं. ६ का अध्यक्ष शिवराज बोहरा लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसैगरी, कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जनक सिंह, घरेलु उद्योग कार्यालयका प्रतिनिधि दशरथ जप्रेल, डिभिजन वन कार्यालय बझाङका कर्मचारी लोकेन्द्र रोकाया, मष्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक बोहरा, शाखा प्रमुखहरू, कर्मचारीहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा साहारा नेपालका जिल्ला संयोजक उमेशराज जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने परियोजनाबारे विस्तृत जानकारी परियोजनाका फिल्ड संयोजक दिनेश रोकायाले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्रका प्रमुख जनक बहादुर सिंहले स्थानीय स्तरमा खाद्य सुरक्षा मजबुत बनाउन आधुनिक कृषि प्रविधि, उत्पादन वृद्धि तथा बजार पहुँचमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले परियोजनासँग समन्वय गरी कृषकहरूलाई व्यवहारिक सीप र प्रविधि हस्तान्तरण गर्न कृषि ज्ञान केन्द्र सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, कार्यक्रमका अध्यक्ष तथा मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले यस्तो परियोजनाले गाउँपालिकामा दिगो विकास, आयआर्जन तथा महिला सशक्तीकरणमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्नुभयो। उहाँले सरोकारवाला निकायहरूबीच सहकार्य र समन्वयलाई अझ सुदृढ गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उक्त परियोजना अन्तर्गत खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन तथा महिला सशक्तीकरणका क्षेत्रमा विभिन्न गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। हाल मष्टा गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ७ मा परियोजना कार्यान्वयन भइरहेको जानकारी दिइएको छ।
बैठकमा परियोजनाका उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। साथै, सरोकारवालाबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।