अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society (INAS) नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न तथा कलाकारहरुको हितको लागि कार्य गर्न स्थापित एउटा अन्तराष्ट्रियस्तरको नेपाली संस्था हो । नेपाली कलाकारहरुको प्रतिभाको पहिचान गरी उनीहरुको प्रतिभालाई विश्वस्तरमा परिचित गराउनुका साथै यस क्षेत्रमा लागेका नेपाली कलाकारहरुको शिक्षा तथा स्वास्थ्यमा आव
श्यक सहयोग पूर्याउन विश्वभर छरिएर रहेका कलाकारहरुको एउटा छुट्टै संस्था हुनुपर्ने आवश्यकता महसुस गरी एसिया, अमेरिका, युरोप र साउथ अमेरिकामा रहनुहुने नेपाली लेखक तथा कलाकारहरुको व्यापक छलफलपश्चात मिति २६ अगस्त २०१२ का दिन पोल्यान्डको वार्सा शहरमा एक भव्य कार्यक्रम गरी यस संस्थाको विधिवत विस्तार गरिएको हो । यसको केन्द्रिय कार्यालय नेदरल्यान्डसको आमस्टरडम शहर (Amsterdam, the Netherlands) मा रहेको छ ।
स्थापनाको छोटो समयमै यस संस्थाले विश्वभरिका लेखक तथा कलाकारहरु मात्र होइन नेपाली भाषा, साहित्य, कला र संस्कृतिसँग सम्वन्धित व्यक्तित्व तथा संघसंस्थाहरुको समेत उल्लेख्य माया पाउदै गएको छ । फलस्वरुप यसका शाखाहरु समेत विश्वका विभिन्न मुलुकहरुमा द्रुत गतिमा विस्तार हुँदै गएका पनि छन ।
यस संस्थाले स्थापनाको छोटो समयमै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेख्य कार्य सम्पन्न गरिसकेको छ र यो क्रममा संस्था निरन्तर लागिपरेको पनि छ । यस संस्थाले २६ अगस्त २०१२ का दिन युरोपमा रहेर नेपाली कलालाई माया गर्ने र यस्को संरक्षण तथा संवर्द्धनमा कार्य गर्ने व्यक्ति वा संघ संस्थाहरुलाई विषेश सम्मान प्रदान गरेको थियो भने गत १५ अक्टोबर, २०१२ का दिन काठमाण्डौमा एक भव्य समारोहका वीच वरिष्ट निर्देशक तथा अभिनेता श्री नीर विक्रम शाह तथा श्री यादव खरेल, वरिष्ट गायक (जसलाई युग गायक पनि भनिन्छ) श्री हिरण्य भोजपुरे, गायिका श्री तिर्थ कुमारी थापा, गायिका तथा वरिष्ट नृत्यांगना श्री नगिना जोशी, पत्रकारहरु कामना प्रकाशनका वरिष्ट पत्रकार श्री भरत श्रेष्ठ तथा कान्तिपुर टेलिभिजनका (रजतपट कार्यक्रम संचालक) श्री प्रकाश सुबेदीज्यू लगायत नेपालीमा कला र साहित्य क्षेत्रकै ज्यादैनै विशिष्ट र समर्पित व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको थियो भने नेपाली चलचित्र जगतकी पहिलो नायिका श्री भूवन चन्दज्यूलाई विषेश सम्मान गरेको थियो ।
त्यस्तै यसका शाखाहरुले पनि नेपाली भाषा, कला तथा संस्कृतिको बिकास र प्रवर्द्धन एवं यससँग सम्वन्धित लेखक तथा कलाकारहरुको हितका लागि ब्रिहत कार्यक्रमहरु आयोजना गर्दैछन । जसअन्तर्गत नेपाली लेखकहरुको प्रतिभालाई प्रोत्साहन तथा सम्मान गर्न अनेकस इजरायल शाखाले देशभक्ति गीत लेखन प्रतियोगिता आयोजना गरेको छ भने कोमाको अवस्थामा अचेत रहेर उपचारको क्रममा रहेकी शान्तिमाया तामाङको उपचारको लागि सहयोगार्थ एक सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्न लागेको छ । त्यस्तै २०१३को अप्रिल महिनामा अनेकस जर्मनी शाखाले युरोपभरिका कलाकारहरुको नृत्य प्रतिभालाई उजागर गर्न र सम्मान गर्न युरोपस्तरीय नृत्य प्रतियोगिता-२०१३ (Inter Europe Single Nepali Dance Competition-2013) आयोजना गरेर कलाकारहरुको प्रतिभालाई सम्मान तथा उनिहरुको प्रतिभालाई विश्वस्तरमा परिचित गराउने कार्य गर्दैछ । त्यस्तै यस्का विभिन्न मुलुकहरुमा रहेका शाखाहरु पनि संस्थागत उद्देश्य प्राप्तिका लागि बिभिन्न कार्यहरुमा जुटेका छन ।
यस संस्थाले नेपाली लेखक तथा कलाकारहरुको स्वास्थ्य तथा शिक्षामा आवश्यक सहयोग गर्ने उद्देश्यले एक कलाकार कल्याणकारी कोष (Artist Wale fare Fund ) गठन गरेको छ । जसलाई २०१३ को अप्रिल महिनाबाट विधिवतरुपमा कार्यान्वनमा ल्याइने छ । यसबाट आर्थिक अवस्था कमजोर भएका लेखक तथा कलाकारहरु लाभान्वित हुनेछन । र, यो एउटा यस संस्थाले गर्न लागेको ज्यादैनै महत्वपूर्ण कार्य समेत भएको छ ।